धरान : धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईले कानुन विपरीत कार्यवाहक नगर प्रमुख तोकेको भन्दै ६ दलले विरोध जनाएका छन् ।
नगर प्रमुख राई सोमबार बेलायत भ्रमणमा गएका छन् । उनले एकसाताअघि २३ असोजबाट लागू हुनेगरी धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको पत्र दिएका थिए ।
स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ क १२ मा सात दिन भन्दा बढी समय गाउँपालिका अध्यक्ष वा नगरपालिकामा नगर प्रमुख अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने भन्ने स्पष्ट व्यवस्था भएपनि कानुन विपरीत कार्यवाहक दिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नेकपा एमाले धरानक ाअध्यक्ष हर्कजङ एभेङ्गले ऐनले व्यवस्था गरेको उपप्रमुखको अधिकारलाई उल्लंघन गर्दै गैरकानुनी रूपमा प्रमुख र उपप्रमुख पदको गरिमामाथि आँच आउनेगरी नगर प्रमुख हर्कराज राईले उपप्रमुख पदलाई अपमानित गर्ने काम गरेको बताए ।
नगर प्रमुखको तहबाट यस्ता गैरकानुनी र अराजक गतिविधिहरू नगर्न सचेत गराएको विज्ञप्तीमा उल्लेख गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ ख २ अनुसार “अध्यक्ष वा प्रमुखको अनुपस्थितमा निजको कार्यभार सम्हाल्ने भनी“ उपप्रमुखलाई स्पष्ट अधिकार दिएको हुँदा सो अनुसार उपप्रमुख अईन्द्रविक्रम बेघा नै कानुनतः स्वत कार्यवाहक प्रमुख रहेको ६ दलको बुझाई रहको विज्ञप्तिमा उल्लेख छ ।
‘धरान उपमहानगरपालिकाका नगर प्रमुख श्री हर्कराज राई केही समयका लागि धरान बाहिर जाने क्रममा गैरकानुनी रूपमा ११ नं. वडाध्यक्ष श्री लोकेन्द्र फागोलाई कार्यवाहक पत्र थमाएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा १६ को उपदफा ४ क १२ मा ‘सात दिन भन्दा बढी समय गाउँपालिका अध्यक्ष वा नगरपालिकामा नगर प्रमुख अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने’ भन्ने स्पष्ट व्यवस्था रहेको छ ।’
नेकपा एमालेका नगर अध्यक्ष हर्कजंग एभेङ, माओवादी केन्द्रका अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), जनता समाजवादी पार्टीका अध्यक्ष ताजुव लिम्बू, नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष रेवतरमण राई, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति राम कार्की र राष्ट्रिय प्रजातन्त्र पार्टीका संयोजक नरेश शाक्यले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
Discussion about this post