विराटनगर : कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेर हस्तान्तरण गरिएको छ । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गत असोज ६ गते कार्यदल गठन गरिएको थियो ।
कार्यदलले क्षेत्रगत प्राथमिकता छुट्याएर न्यूनतम साझा कार्यक्रम सम्बन्धी ८ पेज लामो मस्यौदा तयार गर्दै बिहीबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हस्तान्तरण गरेको हो ।
कार्यदलले बुझाएको प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सार्वजनिकसमेत गरिएको छ । सरकारले पर्यटन क्षेत्रको विकासका लागि छिमेकी देशको मुख्य सहरमा ‘टुरिजम सो’ गर्ने योजनालाई आफ्नो कार्यक्रममा समेटेको छ ।
नेपाली कांग्रेस र नेकपा (एमाले)को संयुक्त सरकारले पर्यटन क्षेत्रको विकासका लागि छिमेकी देशका मुख्य सहरहरूमा ‘टुरिजम सो’ गर्नेसहित विभिन्न महत्वकांक्षी योजनालाई कार्यक्रममा समावेश गरेको हो । जसमा क्यासिनोको विकासदेखि गाँजाको उत्पादन, घरेलु मदिराको ‘ब्राण्डिङ’, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई समेटिएको छ ।
मुख्यमन्त्रीलाई बुझाइएको न्यूनतम साझा कार्यक्रममा प्रदेशमा विदेशी पर्यटकको आकर्षणका लागि क्यासिनोको विकास गर्ने विषय सरकारको प्राथमिकतामा परेको देखिन्छ । क्यासिनोमा नेपालीलाई प्रवेश निषेध छ । अनुगमन नहुँदा नेपालीहरू निर्वाध रूपमा क्यासिनोमा प्रवेश गर्छन् । भएका क्यासिनो व्यवस्थित गर्न नसकेको अवस्थामा क्यासिनो विकास गर्ने नयाँ योजनासहित प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारिएको हो ।
कार्यदलका सदस्य तथा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि साझा कार्यक्रममा क्यासिनोको विषय समावेश गरिएको जानकारी दिए । उनका अनुसार पर्यटन क्षेत्रको विकासका लागि छिमेकी देशका मुख्य सहरहरुमा ‘टुरिजम सो’ गर्नेदेखि प्रदेशमा भौतिक संरचना विस्तार, विराटनगर र भद्रपुरबाट अन्तरदेशीय उडान तथा ‘माउण्टेन फ्लाइट’ गर्नेलगायतका विषयलाई प्राथमिकतामा राखेर कार्यक्रम तयार पारिएको छ ।
खुर्कोट–चतरा, तुम्लिङटार–चतरा र ताप्लेजुङ तमोर दोभान–चतरा जल यातायातको सम्भाव्यता अध्ययन गर्ने विषयलाई कार्यक्रममा समेटिएको छ । प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रमको सूचीमा राष्ट्रिय आय र नागरिकको आयमा वृद्धि गर्न व्यवस्थित ढंगले गाँजा खेती उत्पादन गर्न तथा स्थानीयस्तरमा उत्पादन हुने रक्सी ‘ब्राण्डिङ’ गरी दुवै वस्तुलाई मान्यता दिलाउन संघीय सरकारसँग समन्वयात्मक पहल र प्रयत्न गर्ने उल्लेख छ ।
सरकारले गर्भवती तथा सुत्केरी महिला र १० वर्षमुनिका बालबालिकाको उपचारलाई प्रभावकारी बनाउने र उपचार निःशुल्क गर्ने विषयलाई विकेन्द्रीकृत गर्दै सेवा विस्तार गर्ने, शैलेजा आचार्य हृदय रोग केन्द्र विराटनगरलाई नयाँ ढंगले सञ्चालन गर्ने लगायतका विषय समेटेर कार्यक्रम तयार पारेको छ । सरकारले विद्यालय शिक्षालाई उत्पादनसँग जोड्नका लागि आवश्यक नीति तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।
कार्यदलले बनाएको साझा कार्यक्रमलाई आधार बनाएर सरकारले काम गर्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए । सरकारले बनाएको कार्यदलमा मन्त्रीसहित कांग्रेस र एमालेका ३–३ जना थिए ।
सरकारले बनाएको कार्यदलमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक तथा कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की र कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ थिए ।
न्यूनतम साझा कार्यक्रम सम्बन्धी प्रतिवेदन हस्तान्तरण कार्यक्रममा पूर्वमुख्यमन्त्री एवम् कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा र कार्यदलका सदस्यहरू उपस्थित थिए ।
Discussion about this post