पाँचथर : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारले विशेष प्याकेज ल्याउनु पर्ने धारणा राखेका छन् ।
बाढीपहिरो प्रभावित पाँचथरका विभिन्न स्थानको अवलोकनका लागि आएका गजुरेलले फिदिममा आयोजित पत्रकार सम्मेलनमा उक्त धारणा राखेका हुन् ।
‘यस वर्ष बाढीपहिरोले पु¥याएको क्षति फरक र गम्भीर प्रकृतिको छ, परम्परागत शैलीमा दिइने राहत प्याकेज पर्याप्त हुँदैन । त्यसकारण प्रभावित क्षेत्रको वस्तुस्थिति राम्ररी बुझेर राहत र पुनःस्थापनाका विशेष प्याकेज ल्याउनु पर्छ,’ गजुरेलले भने ।
प्रभावित क्षेत्रमा मिहिन ढंगले अध्ययन गरी पुनः पहिरो जान सक्ने बस्तीलाई प्रतिश्थापन गर्नु, घर भत्किएर र क्षति भएर विस्थापित भएका परिवारलाई पुनःस्थापना गर्न र आंशिक क्षति भएका परिवारलाई प्रकृति अनुसारको राहत र क्षतिपूर्ति दिन सरकारले कार्य योजना बनाउनु पर्ने उनको धारणा थियो ।
बाढीपहिरो प्रभावित क्षेत्रमा पुनः निर्माण पुनःस्थापना र राहतका सन्दर्भमा पार्टीभित्र छलफल गरेर सरकारलाई सुझाव दिने उनको भनाइ छ ।
राष्ट्रिय सभामा माओवादी केन्द्रका सचेतक गोपी अछामी र कोशी प्रदेश अध्यक्ष हर्क नेम्वाङ (मिक्सो)सहितका नेताहरूले सोमबार नै पाँचथरस्थित प्रभावित क्षेत्रमा स्थलगत भ्रमणसहित बाढीपहिरोमा ज्यान गुमाएका र बेपत्ता भएका परिवारका सदस्यलाई १० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराए ।
Discussion about this post