विराटनगर : मोरङका अलगअलग स्थानमा डुबेर सोमबार दुईजना बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५ वर्षीया बालिका र १५ वर्षीय बालक छन् ।
पानी जमेको खाल्डोमा डुबेर धनपालथान–४ का सीताराम मण्डलकी ५ वर्षीया छोरी नितिका मण्डलको मृत्यु भएको छ । घरनजिकको खाल्डोमा डुबेको अवस्थामा दिउँसो ४ः३० बजेतिर हजुरआमाले देखेर उद्धार गरेको प्रहरीले जनाएको छ ।
उद्धार गरेर उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइएकी नाबालिकाको साँझ ५ः२० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका निमित्त प्रवक्ता, इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।
उनका अनुसार शवको विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम गरिएको छ ।
पोस्टमार्टमपछि अभिभावकले शव बुझेर अन्त्येष्टिका लागि लगेका छन् ।
त्यस्तै, बूढीगंगा–५ स्थित बूढीखोलामा डुबेर १५ वर्षीय बालकको मृत्यु भएको छ । स्थानीय खटर शर्माका छोरा आनन्द शर्माको मृत्यु भएको इन्स्पेक्टर ओलीले जानकारी दिए ।
उनका अनुसार नुहाउने क्रममा बालक खोलामा डुबेको हुनसक्ने अनुमान गरिएको छ । आनन्दलाई डुबिरहेको अवस्थामा दिउँसो ४ बजेतिर आमाले फेला पारेकी थिइन् ।
छरछिमेकीलाई खबर गरेर उद्धार गरी उपचारका लागि दुहबी सामुदायिक अस्पताल लगिएको थियो ।
थप उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले ४ः४० बजेतिर मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ । बालबालिकाको मृत्यु भएको घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Discussion about this post