पाँचथर : फिदिममा आयोजित ‘लब्रेकुटी–शिलौती फाल्गुनन्द खुल्ला हाफ म्याराथन’ को उपाधि पुरुष तर्फ फिदिम ६ का नेपाल आर्मीका दिपेश तामाङ र महिला तर्फ नेपाल प्रहरीकी सुमित्राकुमारी चौधरीले चुमेका छन् ।
एथलेटिक्स सङ्घ पाँचथरले नेपालका १६ औँ विभूति तथा किराँत धर्म प्रवर्तक महागुरु फाल्गुनन्द लिङदेनको जन्म जयन्तीको अवसरमा पारेर आयोजना गरेको २१ किलोमिटर दुरीको हाफ म्याराथनमा पुरुष तर्फ प्रथम भएका दिपेशले १ घण्टा १९मिनेट ४५ सेकेन्डमा निर्धारित २१ किलोमिटर दुरी पार गरेका थिए ।
पुरुष तर्फको प्रतियोगितामा पाँचथरका ओसन राई र ताप्लेजुङका भिया लिम्बू क्रमशः दोस्रो र तेस्रो भए । उनीहरू मध्ये ओसनले १ घण्टा १९ मिनेट ५० सेकेन्ड र भियाले १ घण्टा २० मिनेट ५० सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए ।
यस्तै महिला तर्फको प्रतियोगितामा प्रथम भएकी सुमित्राले २४ मिनेटमा निर्धारित ५ किलोमिटर दुरी पार गर्दै पहिलो स्थान सुरक्षित गरिन । दोस्रो भएकी पुष्पा लिम्बूले २४ मिनेट ३३ सेकेन्ड र तेस्रो भएकी जुलि राईले २४ मिनेट ४० सेकेन्डमा निर्धारित दुरी पार गरेकी थिइन ।
प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो भएका खेलाडीले क्रमशः ३०,२० र १० हजार नगद सहित ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गरे ।
उनीहरूलाई प्रमुख अतिथिको आसनबाट फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले पुरस्कार ट्रफि र मेडल प्रदान गरेका थिए ।
प्रतियोगिताका धावकलाई किराँत धर्म गुरु तथा नेपालका १६ औँ विभूति फाल्गुनन्द लिङदेनको तपोभूमी लब्रकुटीदेखि कान्छी दोकान,पौवाभञ्ज्याङ,शिलौती हु‘दै पुनः लब्रेकुटी सम्मको २१ किलोमिटर महिलाका लागि लब्रेकुटीदेखि कान्छी दोकान हुँदै पुनः लब्रेकुटी सम्मको ५ किलोमिटर दुरी निर्धारण गरिएको आयोजक एथलेटिक्स सङ्घका अध्यक्ष पूर्णहाङ तुम्बापो (रेन्जो)ले बताए ।
Discussion about this post