इटहरी : सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १७ खैरेनीबाट ३०७ केजी गाँजा सहित १ जना पक्राउ परेका छन् । गाँजा सहित सुप्रिम एग्रिकल्चर कृषि फर्मका सञ्चालक ४४ वर्षीय मनीराज राई पक्राउ परेका हुन् ।
कृषि फर्ममा लागुऔषध गाँजाको कारोबार भई रहेको छ भन्ने विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले गाँजा बरामद गरेको थियो ।
कृषि फर्मको पूर्व तर्फको कोठा भित्र लुकाई छिपाई राखेको अवस्थामा १० वटा प्लास्टिकको बोराहरूमा र कालो रङ्गको प्लास्टिकको बाक्सा भित्र लुकाई राखेको ५ वटा प्लाष्टिकको पोका समेतमा गरी जम्मा ३०७ के.जी लागू औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जरी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।
गाँजा बरामद भएसँगै धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं ८ घर भएर सुनसरी धरान उपमहानगरपालिका वडा नं १३ मा फर्म सञ्चालन गर्दै आएका राईलाई समेत पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Discussion about this post