विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश समितिले नामकरणको विषयमा आन्दोलनरत पक्षसँग वार्ता गरी उनीहरुको मागलाई यथासक्य सम्बोधन गर्न आग्रह गरेको छ ।
प्रदेश समिति सभापति एवं कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्वव थापाले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
आन्दोलनरत पक्षलाई शान्तिपूर्ण, संयमित र मानव अधिकारको उल्लंघन नहुने गरी आफ्ना जायज मागहरु राख्न पनि उनले आग्रह गरेका छन् ।
कोशी प्रदेश सरकारलाई तत्काल वार्ता समिति बनाई आन्दोलनरत पक्षलाई वार्तामा बोलाई उचित मागहरुलाई यथासक्य सम्बोधन गर्न थापाले ध्यानाकर्षण गराएका छन् ।
आन्दोलनरत पक्षलाई प्रदेश सरकारको तर्फबाट धरपकट गर्ने, कर्फयु लगाउने, गोली हान्ने, लाठीचार्ज गर्ने तथा दुर्व्यवहार गर्ने कार्य रोक्न आग्रह गर्दै परिस्थितिलाई शान्त बनाउदै शान्तिपूर्ण निकास र समस्या समाधानको लागि सबै पक्षबाट सकारात्मक पहलको लागि उनले आग्रह गरेका छन् ।
नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति एवं कांग्रेस संसदीय दलका नेता थापाले जारी गरेको विज्ञप्तिको पूर्णपाठ–
जनताको अथक परिश्रम, लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त नेपालको संविधान र लोकतान्त्रिक गणतन्त्रात्मक संघीय शासन व्यावस्थालाई संस्थागत गर्नु हामी सबैको कर्तव्य हो ।
राज्यले यतिबेला संघ, प्रदेश र स्थानीय तह गरी तीन तहबाट नागरिकलाई सेवा प्रवाह गरिरहेको छ । यसरी सेवा प्रवाह गर्ने सरकार र सरकारका इकाईहरुको नाम, केन्द्र र राजधानी निश्चित स्थानमा तोक्नु पर्ने हुन्छ । त्यो जिम्मेवारी र कर्तब्यलाई हामीले पुरा गर्नै पर्दथ्यो र गरेका छौं ।
अघिल्लो प्रदेशसभाबाट नेपालका ६ वटा प्रदेश सरकारले आफ्नो नाम र राजधानी तोकिसकेका थिए तर तत्कालीन प्रदेश नम्बर १ ले नाम राख्न सकिरहेको थिएन । नाम राख्नैपर्ने थियो र साझा सहमतिबाट कोशी प्रदेश नामाकरण गरियो ।
कोशी प्रदेश नामकरणको विषयलाई लिएर आन्दोलनरत प्रदेश नम्बर १ नामांकन संघर्ष समितिको तर्फबाट बिभिन्न आन्दोलनका कार्यक्रमहरु भइरहेका छन् । यसै सन्दर्भमा आन्दोलनरत सम्पूर्ण साथीहरुलाई शान्तिपूर्ण, संयमित र मानव अधिकारको उल्लंघन नहुने गरी आफ्ना जायज मागहरु राख्न आग्रह गर्दछौं । साथै कोशी प्रदेश सरकारलाई तत्काल वार्ता समिति बनाई आन्दोलनरत पक्षलाई वार्तामा बोलाई उचित मागहरुलाई यथासक्य सम्बोधन गर्नहुन ध्यानाकर्षण गराउँदछौं । आन्दोलनरत पक्षलाई प्रदेश सरकारको तर्फबाट धरपकट गर्ने, कर्फयु लगाउने, गोली हान्ने, लाठीचार्ज गर्ने तथा दुर्व्यवहार गर्ने कार्य रोक्न आग्रह गर्दै परिस्थितिलाई शान्त बनाउदै शान्तिपूर्ण निकास र समस्या समाधानको लागि सबै पक्षबाट सकारात्मक पहलको लागि आग्रह गर्दछौं ।
प्रदेशको नामकरणपश्चात् उत्पन्न भएको परिस्थितिले एक होनाहार समाजसेवी युवा बेलबारी–२ लालभित्ती मोरङ्ग निवासी पदमबहादुर लिम्बु लाजेहाङको आन्दोलनकै क्रममा घाइते भई उपचारको क्रममा गत २०७९।१२।१० गते धरानमा दःखद निधन भएको घटनाप्रति हाम्रो पार्टी गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रदान्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।
त्यस्तै गत बैशाख २६ गते झापा जिल्लाको दमकमा प्रदर्शनका क्रममा गोली लागि घाइते हुनुभएका इलाम चुलाचुली १ का गजेन्द्र फागो र झापा अर्जुनधारा ११ की निर्मला क्षेत्री लिम्बूको लगायतका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । साथै घाइतेको सम्पूर्ण औषधि उपचारको खर्च ब्यहोर्न प्रदेश सरकारसँग माग गर्दछौं ।
Discussion about this post