विराटनगर । संघीय सरकारले सोमबार संसदमा प्रस्तुत गरेको बजेटबाट आशावादी हुने अवस्था भए पनि कार्यान्वयनको चरण महत्वपूर्ण हुने उद्योगी–व्यवसायीले बताएका छन् ।
अर्थमन्त्री प्रकाशशरण महतले संसदमा आर्थिक वर्ष २०८०/८१ को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले बजेटले स्वदेशी उद्योगलाई संरक्षण हुने बजेट ल्याएको बताए । मुलुकमा सञ्चालित विदेशी आयोजनाहरुले नेपाली उत्पादन खरिद गर्नुपर्ने नीति सरकारले ल्याइनु स्वदेशी उद्योगका लागि सकारात्मक भएको उनले बताए ।
स्वदेशी उद्योग संरक्षणमूखी बजेट आएको तर त्यसको कार्यान्वयन कसरी हुन्छ भन्ने थाहा पाउन केही समय पर्खनुपर्ने उनले प्रतिक्रिया दिए ।
बजेटले नेपालमा निर्माणाधीन विदेशी आयोजनाहरुले नेपाली उत्पादन फलामे छड, पाइप, सिमेन्टजस्ता वस्तु प्रयोग गर्नुपर्ने उल्लेख गरेको छ ।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जग्गा कित्ताकाट र आयातलाई खुकुलो बनाउने सरकारको नीतिले अर्थतन्त्र चलायमान हुने सम्भावना बढेको बताए ।
बैंकिङ क्षेत्रको विषयमा प्रष्ट कुरा आउन नसकेको उल्लेख गर्दै उनले बैंकको नीति सम्बन्धमा प्रष्ट कुरा आएको भए अझ राम्रो हुने प्रतिक्रिया दिए ।
अहिलेको कमजोर आर्थिक अवस्थालाई समेट्ने गरी बजेटले उत्पादन वृद्धि, उत्पादकत्व बढाउने र रोजगारी बढाउने विषय सकारात्मक भएको कतिपयले प्रतिक्रिया दिएका छन् ।
बजारको अवस्था खस्कँदै गएको सन्दर्भमा साना व्यवसायीहरु धेरै मर्कामा परिरहेकाले उनीहरुलाई उत्साहित बनाउने खाले बजेट नआएको विराटनगर ४ का व्यवसायी राम पौडेलले बताए ।
स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने खालका केही कार्यक्रम आउनु सकारात्मक पक्ष भए पनि यतिबेलाको जर्जर आर्थिक अवस्थाले पिरोलिएका वर्गलाई पर्याप्त रुपमा सम्बोधन गर्न बजेट चुकेको उनको भनाइ छ ।
Discussion about this post