काठमाडौं : भारतको अनुमतिसँगै शुक्रबारदेखि नेपालको बिजुली बंगलादेशमा निर्यात हुनेछ ।
भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) ले नेपाललाई बंगलादेशमा विद्युत् निर्यात गर्न अनुमति दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले शुक्रबार मध्याह्न १२ः४५ बजेबाट ४० मेगावाट विद्युत् निर्यात हुने जानकारी दिए । तर, यो याममा एक दिनमात्र निर्यात हुने उनले बताए ।
नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबीच १७ असोजमा सम्झौता भएको थियो ।
विद्युत् निर्यात गर्न भारतको सीईआरसीको अनुमति आवश्यक पर्ने सम्झौतामै उल्लेख छ ।
त्रीदेशीय सम्झौतामा नेपालले १५ जुनदेखि १५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने छ । ऊर्जामन्त्री दीपक खड्काले भारत भ्रमणका बेला बंगलादेश विद्युत् निर्यात अनुमति दिने विषयमा भारतीय विद्युतमन्त्री मनोहरलाल खट्टरसँग छलफल गरेका थिए ।
त्यस क्रममा १५ नोभेम्बरभित्र नेपालबाट बंगलादेश विद्युत् निर्यात अनुमति प्राप्त हुने आश्वासन प्राप्त भएको थियो ।
नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बंगलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ ।
नेपालले १० हजार मेगावाट विद्युत भारत र ५ हजार मेगावाट बंगलादेशलाई निर्यात गर्ने लक्ष्य राखेको छ ।
Discussion about this post