झापा : झापामा घारीमा फ्यालिएको नवजात शिशुको उद्धार गरिएको छ ।
जिल्लाको मेचीनगर नगरपालिका–१० निन्दा खोलानजिकै घारीमा फेला परेकी शिशुको बिहीबार बिहान उद्धार गरिएको हो ।
मेचीनगर नगरपालिका–११ की इन्दिरा प्रसाईं (अधिकारी)ले ‘मर्निङ वाक’ गर्ने क्रममा बेवारिसे फ्यालेको सालनालसहितको शिशुलाई कमिलाले टोकेर रक्ताम्य पारेको अवस्थामा बिहान ६ः३० बजेतिर फेला पारेकी थिइन् ।
इन्दिराले इलाका प्रहरी कार्यालय धुलाबारीमा शिशु बुझाएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनका अनुसार शिशुलाई मेचीनगर–१० वडा कार्यालयमा बुझाइएको छ ।
कसले जन्माएर शिशु फ्यालेको हो भनेर यकिन भइनसकेको प्रहरीले जनाएको छ ।
अवैध गर्भबाट जन्मिएपछि घटना लुकाउनलाई फ्यालेको हुनसक्ने चन्दले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post