मलेसियासँग पाँच खेलको सिरिजका लागि क्वालालाम्पुर पुगेको नेपाली राष्ट्रिय महिला टिमले लगातार दोस्रो खेलमा जित निकाल्दै सिरिजमा २-१ को अग्रता बनाएको छ।
बिहीबार भएको सिरिजको तेस्रो खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गर्यो।
पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो र तेस्रो टी-२० मा मलेसियालाई पराजित गरेको हो। बिहीबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनाएको थियो।
नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाउँदा ज्योती पाण्डेले २३ रन बनाइन। त्यस्तै सीता राना मगरले २१ तथा इन्दु वर्माले २० रन बनाएकी थिइन्। मलेसियाका लागि निक नुरले २ विकेट लिँदा एइसा एलेसा र विनिफ्रेड दुराइसिंघमले समान १-१ विकेट लिए।
१ सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८३ रन मात्र बनाएको थियो। उसका लागि महिरा इजती इस्माइलले सर्वाधिक ४४ रनको नटआउ इनिङ खेलिन्।
त्यस्तै विनिफ्रेड दुराइसिंघमले २० रन बनाएकी थिइन्। मलेसियाका अन्य ब्याटरले दोहोरो रनको स्कोर तयार गर्न सकेनन्। नेपालका लागि कविता कुंवर, सीता राना मगर र इन्दु वर्माले समान १-१ विकेट लिएका थिए।
Discussion about this post