विराटनगर । भारतको बथनाहबाट कार्गो रेल विराटनगर आइपुगेको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि भारतको बथनाहबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको हो ।
नयाँ दिल्लीस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर कार्गो रेल्वे सेवाको उद्घाटन गरेका थिए ।
विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्म आइपुगेको कार्गो रेलमा केही उद्योगका लागि कच्चापदार्थ ढुवानी गरिएको छ ।
भारतको बथनाहाबाट विराटनगरको आईसीपी रेल्वे स्टेसनसम्म बिछ्याइएको आठ किलोमिटर रेलमार्ग तयारी अवस्थामा छ ।
उक्त रेलमार्ग २०७५ कात्तिक ८ गते रेल सञ्चालनका लागि परीक्षणसमेत भइसकेको छ । बुधबार पनि सो रेलमार्गको पुनःपरीक्षण गरिएको रेल विभागले जनाएको छ ।
उद्घाटन भएपछि अब रेलमार्ग नियमित रुपमा सञ्चालन हुने जनाइएको छ ।
बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म १८ दशमलव एक किलोमिटर लामो रेलमार्ग सन् २०११ देखि निर्माण सुरु भएको भए पनि पूरा हुन सकेको छैन ।
केही स्थानमा मुआब्जा विवाद कायमै छ । उक्त समस्या समाधानका लागि पहल भइरहेको छ ।
भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सो रेलमार्ग निर्माण भएको हो ।
Discussion about this post