ताप्लेजुङ । बाढीपहिरोमा परी हराइरहेकाहरु नभेटिएपछि ताप्लेजुङमा बेपत्ताका परिवारले उनीहरुको अन्तिम संस्कार गरेका छन् ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा पहिरोमा परी बेपत्ता भएकाहरुको दाहसंस्कार गरिएको हो । सातौँ दिनसम्म पनि नभेटिएपछि कुशको शव बनाएर परिवारले दाहसंस्कार गरेका हुन् ।
गत शनिबारको पहिरोमा परी एकैपरिवारका सासु, बुहारी र नाति बेपत्ता भएका थिए ।
मेहेलेको भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, बुहारी ३३ वर्षीया सन्ध्या र नौ वर्षका नाति प्रज्वल बुढाक्षेत्री बेपत्ता भएका हुन् ।
घरमुली यादव बुढाक्षेत्री पारिवारिक कामले नजिकैको गाउँ पेदाङ गएकाले बाँचेका थिए ।
कतारमा रोजगारीका लागि गएका यादवका छोरा विदुर बुढाक्षेत्री फर्किएपछि कुशको शव बनाइ काबेली नदीमा अन्त्यष्टि कार्य गरिएको हो ।
Discussion about this post