विराटनगर । कोशी प्रदेशमा नयाँ सत्ता समीकरणका लागि दलहरु सक्रिय बनेका छन् । यस क्रममा हाल सत्तामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ने नेकपा (एमाले) लाई दिएको साथलाई निरन्तरता दिने भएको छ ।
गत निर्वाचनमा गठबन्धन बनाएका यी दुई दल सत्तामा छन् । प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ जना सांसद छन् ।
निर्वाचनपछि राप्रपा, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) सहितको समर्थनमा एमालेको नेतृत्वमा सरकार बनेको थियो ।
प्रदेशभामा सभामुखसहित माओवादीका १३ र जसपाका १ सांसद छन् । जसपाले जेठ १७ र माओवादीले जेठ २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
साझेदार दलले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज बिहीबार दिउँसो विश्वासको मत लिने भएका छन् ।
यही प्रयोजनका लागि प्रदेशसभाको तेस्रो अधिवेशन दिउँसो १ बजेका लागि बोलाइएको छ । अधिवेशको पहिलो बैठकमै उनले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने छन् ।
राप्रपाले सरकारलाई दिएको समर्थन कायम राख्ने र मुख्यमन्त्री कार्कीको विश्वासको मतको पक्षमा मतदान गर्ने भएको छ ।
उक्त पार्टीको कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले चुनावदेखिको गठबन्धनलाई पूर्णकालसम्मै नतोड्ने निस्कर्षमा पुगेको बताएका छन् । सरकार ढालेर राजनीतिक खिचातानीमा फस्न हुँदैन भन्ने आफूहरुको अडान रहेको उनले उल्लेख गरे ।
बिहीबार बिहान बसेको संसदीय दलको बैठकले विश्वासको मतका पक्षमा मतदान गर्ने निर्णय लिएको सिटौलाले जानकारी दिए ।
९३ सदस्यीय प्रदेशसभामा बहुमत पुरयाउनका लागि ४७ सांसद आवश्यक पर्छ । नेपाली कांग्रेससँग २९, नेकपा (एकीकृत समाजवादी) सँग ४ सहित विपक्षी गठबन्धनसँग पनि सभामुखबाहेक ४६ जना सांसद छन् ।
सत्तारुढ र प्रतिपक्षीसँग समान ४६/४६ सांसद छन् । यसअनुसार प्रतिपक्षी गठबन्धनको पनि बहुमत पुग्ने अवस्था छैन ।
एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकार टिकाइराख्न विभिन्न विकल्पबारे छलफल भइरहेको बताए ।
एमाले प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले सरकारका लागि संसदमा विश्वासको मत माग्ने र मत दिन कांग्रेसलगायतका दलसँग अनुरोध गर्ने निर्णय गरेको थियो ।
सहमतिको सरकार निर्माणमा जोड दिंदै एमालेले विश्वासको मतका लागि एमालेले कांग्रेसलगायत दललाई अनुरोध गरेको छ । विश्वासको मत पाउन नसके मुख्यमन्त्री कार्की पदमुक्त हुने छन् ।
सरकार ढल्यो भने नयाँ सरकार गठनको गृहकार्य सुरु हुने छ । गठबन्धनबाट पनि नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लागिसकेको छैन । कांग्रेस र माओवादीले नयाँ बन्ने सरकारको नेतृत्वमा दाबी गरिरहेका छन् ।
प्रदेशसभामा कांग्रेस दोस्रो र माओवादी तेस्रो ठूलो दल हो । दुवै दल आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने प्रयासमा छन् भने एकीकृत समाजवादीले सरकारको दाबी नगर्ने भएको छ ।
कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राई गठबन्धनभित्रको ठूलो दल भएकाले नयाँ सरकारको नेतृत्व कांग्रेसले नै गर्न पाउनुपर्ने बताउँछन् । कांग्रेसको नेतृत्वमा सरकार बनेमा दलका नेता उद्धव थापा मुख्यमन्त्री बन्ने उनले जनाए ।
यस्तै, माओवादीका प्रदेश सचिव एवं सांसद गणेश उप्रेती ‘सुशील’ नयाँ सरकारको नेतृत्वले माओवादीले गर्न पाउनुपर्ने बताउँछन् । माओवादीले नेतृत्व पाउने र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मुख्यमन्त्री बन्ने उनको भनाइ छ ।
Discussion about this post