विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले आवश्यक परेमा मध्यावधि निर्वाचनमा जान सकिने बताएका छन् । उनले अहिलेको सरकारलाई विश्वासको मत नदिने पनि बताए ।
प्रदेशसभा सचिवालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बिहीबार यस्तो बताएका हुन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्दै पत्र पठाउनु स्वाभाविक भन्दै थापाले त्यसको जवाफ संसदबाटै दिने उल्लेख गरे ।
मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडान राख्दै उनले भने, ‘बरु प्रदेश मध्यावधि निर्वाचनमा गयो भने सामना गरौंला, यो ठूलो कुरा भएन ।’
विश्वासको मत नदिनेमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच एक भएर अघि बढ्ने सहमति भएको भन्दै त्यो सहमति पूर्ण रुपमा पालना हुने थापाले उल्लेख गरे ।
एमाले नेतृत्वको सरकार ढलेपछि प्रदेशमा गठबन्धन दलबीच सहमतमै नयाँ सरकार बन्ने पनि उनको भनाइ छ । थापाले गठबन्धनको ठूलो दल भएकाले नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्न पाउनु पर्ने बताए ।
प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । उनलाई राप्रपाको साथ छ । सत्तारुढ दलसँग ४६ सांसद छन् । विपक्षी गठबन्धनसँग पनि सभामुखबाहेक ४६ सांसद छन् ।
Discussion about this post