झापा । कनकाई बहुमुखी क्याम्पस विश्वविद्यालय अनुदान आयोग नेपालबाट क्यूएए प्रमाणपत्र प्राप्त गर्दै पूर्वकै प्रतिष्ठित उच्च शैक्षिक संस्थाका रुपमा रुपान्तरित भएको छ ।
स्नातक र स्नाकोत्तरसम्म पठन पाठन हुँदै आएको यो क्याम्पस ३३ वर्ष अगाडि स्थापना भएको हो । क्याम्पसले क्यूएए प्रमाणपत्र प्राप्त गर्दै प्रतिष्ठित शैक्षिक संस्थाका रुपमा रुपान्तरित भएको क्याम्पस सञ्चालक समिति अध्यक्ष प्रेमप्रसाद चुडालले बताए ।
देश भरका करिब एक हजार चार सय क्याम्पसहरु मध्ये उच्च गुणस्तर सुनिश्चितता भएका ७७ वटा क्याम्पसमा कनकाई वहुमुखी क्याम्पस पनि पर्न सफल भएको हो ।
विश्वविद्यालय अनुदान आयोगबाट आर्थिक वर्ष २०७८/०७९ मा एक करोड पूँजीगत अनुदान प्राप्त गर्दै पुस्तकालय तथा कक्षा कोठा भवन निर्माण कार्य भएको अध्यक्ष चुडालले बताए ।
त्यस्तै आर्थिक वर्ष २०७९.०८० मा समेत एक करोड रुपैयाँ अनुदान प्राप्त भएकाले भवन निर्माणलाई पूर्णता दिइएको बताइएको छ । क्याम्पस प्रवेशद्वार उत्तरको करिब १४ कठ्ठा क्षेत्रफलमा उद्यान निर्माण गरिएको छ । क्याम्पस हाताभित्र वृक्षरोपण पनि गरिएका छ ।
क्याम्पसले क्यूएए प्रमाणपत्र प्राप्तगरेसँगै विद्यार्थीको संख्यामा विगतको वृद्धि भएको बताइएको छ । क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीको ‘पासआउट’ संख्या समेत बढेर गएको पाइएसँगै क्याम्पसको शैक्षिक गुणस्तर राम्रो मान्न सकिने अध्यक्ष चुडालले बताए ।
त्रिभुवन विश्वविद्यालय अन्तरगत मानविकी तथा सामाजिकशास्त्र संकायतर्फको प्रवीणता प्रमाणपत्र तहको मान्यता पाएसँगै यो क्याम्पस २०४७ साल पुस १० गते स्थापना भएको थियो । हाल क्याम्पसमा विभिन्न विषयमा स्नाकोत्तर तहसम्म सञ्चालनमा छ ।
Discussion about this post