काठमाडौं । सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने भएको छ ।
उक्त कार्यक्रम आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक घोषणा गर्दै छन् ।
प्रज्ञा भवन कमलादीमा बुधबार आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले औपचारिक घोषणा गर्न लागेका हुन् ।
अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनसम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो ।
सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीका अनुसार अनौपचारिक श्रमिक तथा स्वरोजगार व्यक्तिले सरकारले तोकेको आधारभूत पारिश्रमिकको २० दशमलव ३७ प्रतिशत रकम योगदान गर्नुपर्ने छ ।
योगदान रकमको ११ प्रतिशत सम्बन्धित व्यक्ति र बाँकी सरकारका तर्फबाट नौ दशमलव ३७ प्रतिशत जम्मा हुने रेग्मीले बताए ।
सरकारका तर्फबाट जम्मा गरिने रकम सङ्घ, प्रदेश वा स्थानीय तहले जम्मा गरिदिने वा त्यस्तो रकम योगदानकर्ता आफैँले जम्मा गर्न सक्नेछन् ।
Discussion about this post