विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्मा कांग्रेसका गयानन्द मण्डल थपिएका छन् । मुख्यमन्त्री उद्धव थापाले मण्डललाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।
प्रदेशसभाका ज्येष्ठ सदस्य मण्डलले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा मुख्यमन्त्री थापाले पद तथा गोपनीयताको शपथग्रहण गराए ।
कोशी प्रदेशसभामा अहिले सभामुख छैनन् । तत्कालीन सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका थिए । उनले सरकार गठनमा सहभागी बन्न राजीनामा दिएका थिए ।
त्यसयता प्रदेशसभा सभामुखविहीन बनेको हो । सभामुख नहुँदा उपसभामुखले सभा चलाउनुपर्ने व्यवस्था छ । उपसभामुख पनि अनुपस्थित रहेको अवस्थामा ज्येष्ठ सदस्यले सभा चलाउन पर्ने संवैधानिक व्यवस्था छ ।
सभाको अध्यक्षता गर्नेले संसदमा मत बराबर भएको अवस्थामा मात्रै निर्णायक मत दिन पाउँछन् । ज्येष्ठ सदस्यले सभा चलाएको अवस्थामा मुख्यमन्त्री थापाले विश्वासको मत पाउने अवस्था बन्दैन । त्यही भएकाले आफूले विश्वासको मत लिनलाई थापाले ज्येष्ठ सदस्य मण्डललाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।
साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १५ भित्रमा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । मुख्यमन्त्री थापाले साउन १७ गते नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगूलाई भौतिक पूर्वाधार विकास र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई खानेपानी, सिँचाइ तथा उर्जामन्त्री नियुक्त गरेका थिए ।
साउन २६ गते जनता समाजवादी पार्टी (जसपा)बाट निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्री बनाए । मुख्यमन्त्री थापाले आन्तरिक मामिला तथा कानुन, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र उद्योग, कृषि तथा सहकारी मन्त्रालय आफैसँग राखेका छन् ।
९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि बहुमत पुर्याउन ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ । सभामुखलाई राजीनामा गराएपछि मात्रै गठबन्धनका तर्फबाट नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापाले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नलाई बहुमत पुर्याउन सकेका हुन् । गठबन्धनमा रहेकामध्ये कांग्रेससँग २९, माओवादी केन्द्रसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ जना प्रदेशसभा सदस्य छन् । एउटै गठबन्धनमा रहेका नेकपा (एमाले) सँग ४० र राप्रपासँग ६ जना प्रदेशसभा सदस्य छन् । उपसभामुख एमालेकी सिर्जना दनुवार छिन् ।
Discussion about this post