काठमाडौं : बैंकिङ प्रणालीमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंक र वाणिज्य बैंकहरूलाई तरलता व्यवस्थापनमा हम्मेहम्मे हुन थालेको छ । अधिक तरलताका कारण बैंकहरूले एकआपसमा लिने सापटीको (अन्तरबैंक) ब्याजदर ३ प्रतिशत पुगेको छ । ३ प्रतिशतभन्दा तल झर्न नदिनका लागि राष्ट्र बैंकले विभिन्न बैंकहरूबाट रकम तानेको तानै गर्नुपरेको छ ।
गत २१ कात्तिकमा मात्र राष्ट्र बैंकले १ खर्ब रुपैयाँ तानेकामा आइतबार पुनः १ खर्ब रुपैयाँ तानेको हो ।
राष्ट्र बैंकले १ खर्ब रुपैयाँ राख्न खोज्दा बैंकहरूले २ खर्ब रुपैयाँ राख्न बोलकबोल गरेका थिए । अन्तरबैंक ब्याजदर ३ प्रतिशत हुँदा पनि राष्ट्र बैंकमा बोलकबोल गर्दा भने औसत २ दशमलव ८६ प्रतिशत ब्याजदरमै बैंकहरूले रकम राखेका थिए ।
राष्ट्र बैंकले बैंकहरूको प्रणालीबाट तरलता खिचिरहे पनि अधिक तरलताको अवस्था यथावतै छ । राष्ट्र बैंकको तथ्यांकनुसार आइतबार बैंकहरूमा ६६ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । कर्जा लगानी भने ५२ खर्ब ७५ अर्ब मात्रै रहेको छ ।
बैंकहरूसँग अझै पनि करिब ६ खर्ब रुपैयाँबराबरको रकम कर्जा लगानीका लागि छ । बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने भए पनि हाल ७८ दशमलव १६ प्रतिशतबराबर मात्रै कर्जा लगानी गरेका छन् ।
व्यवसायीहरूमा कर्जाको माग गर्नेभन्दा पनि ऋण तिर्नुपर्ने दबाब रहेकाले गर्दा कर्जा विस्तार हुन नसकेको बताइएको छ । अहिले बैंकहरूमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ । अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा पनि तल झरेको छ । यसले गर्दा तरलता सन्तुलन राख्न राष्ट्र बैंकले बारम्बार तरलता खिचिरहेको छ ।
पछिल्लो समय बैंकहरूमा अधिक लगानीयोग्य रकम थुप्रिएको छ भने कर्जाको माग अझै बढ्न सकेको छैन । यसले गर्दा केन्द्रीय बैंकले प्रणालीबाट तरलता प्रशोचन गरिरहेको छ ।
राष्ट्र बैंकले गत बुधबार बैंकहरूमा थुप्रिएको १ खर्ब निक्षेप संकलन गर्नका आह्वान गरेको थियो । जसमा २५ वटा बैंकले २ खर्ब ७ अर्ब १० करोड रुपैयाँको बोलकबोल गरेका थिए ।
२१ दिनका लागि खुला बजार हस्तक्षेपअन्तर्गत गरिएको बोलकबोलमा ६६ वटा बोलपत्रमार्फत सोबराबरको निक्षेप राख्न आवेदन परेको राष्ट्र बैंकले जनाएको छ । सहभागी बैंकहरूले न्यूनतम २ दशमलव ७२२५ प्रतिशतसम्म ब्याजदर कबोल गरेका थिए । औसतमा २ दशमलव ८६७१ प्रतिशत ब्याजदर कायम भए पनि बुधबार संकलित निक्षेपका लागि २ दशमलव ९५ प्रतिशतसम्म ब्याजदर बोलकबोल गर्ने बैंकले निक्षेप उपकरण खरिद गर्न पाएका थिए ।
राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा उपकरण दिन बिराएर (आइतबार, मंगलबार र बिहीबार) छोटो अवधिका लागि निश्चित ब्याजदरमा प्रणालीको पैसा प्रशोचन गर्ने र पठाउने नियमित कार्य गरिरहन्छ । हाल वाणिज्य बैंकहरूमा मात्रै ५९ खर्ब २ अर्ब रुपैयाँ निक्षेप रहेको छ । तर, बैंकहरूले भने कुल ४२ खर्ब ७१ अर्ब रुपैयाँबराबरको मात्रै कर्जा प्रवाह गरेका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांकनुसार अन्य बैंक तथा वित्तीय संस्थाहरू अर्थात् ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंकहरूमा ७ खर्ब ३६ अर्ब निक्षेप रहेको छ । ती निकायको कर्जा प्रवाह ६ खर्ब ५ अर्ब रुपैयाँ रहेको छ । ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूमा कुल ६६ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप छ भने कर्जा प्रवाह कुल ५२ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ ।
सहकारी संस्थाहरूको निक्षेपलाई जोड्यो भने यो अझ बढ्ने बताइएको छ । तर, सहकारीहरूको निक्षेप र कर्जाको अनुगमन कुनै निकायले गर्ने नभएका कारण तथ्यांक भने उपलब्ध छैन । सहकारी संस्थाहरू पनि अहिले अधिक तरलताको चपेटामा परेका बताइएको छ ।
आजको राजधानी दैनिकमा प्रकाशित छ ।
Discussion about this post