काठमाडौँ । नेपाली कांग्रेस रूपान्तरण अभियान पक्षधरले २४ भदौबाट दोस्रो चरणको रूपान्तरण अभियान घोषणा गरेको छ । अभियानलाई निरन्तरता दिने निर्णय गरिएको नेता जगदिश्वरनरसिंह केसीले बताए ।
‘बैठकबाट अभियानलाई निरन्तरता दिने निर्णय गरेका छौँ । दोस्रो चरणमा १६५ निर्वाचन क्षेत्र पुग्ने गरी कार्यक्रम तय भएको छ । २४ भदौमा बिपी जयन्तीबाट दुई महिना अभियान सञ्चालन हुनेछ,’ उनले भने ।
उनका अनुसार दोस्रो चरणको अभियान २४ भदौदेखि २४ कात्तिकसम्म गरी दुई महिना सञ्चालन हुने अभियान अन्तर्गत १६५ निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रम गरिनेछ ।
केन्द्रीय सदस्य मधु आचार्यले बिपी जन्मजयन्तीदेखि गणेशमानसिंह जन्मजयन्तीसम्म रूपान्तरण अभियान सञ्चालन गरिने बताए । उनका अनुसार बिपी जयन्तीको अवसर पारेर भदौ २४ मा काभ्रेपलाञ्चोक – २ बाट कार्यक्रम सुरु हुने छ ।
कार्यक्रममा पार्टी कार्यकर्ताहरू र जनतासँग पनि संवाद गरिने आचार्यको भनाइ छ । रूपान्तरण पक्षधरले गत जेठमा सातै प्रदेश भेला गरेका थिए। अभियानको सुझाव कांग्रेस नेतृत्वलाई बुझाइएको थियो । पहिलो चरणको अभियानअन्तर्गत पहिलो चरणमा सातै प्रदेशका र डायस्पोराको भेला गरिएको थियो ।
Discussion about this post