केदार बस्नेत/धरान
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत शिक्षकहरुले परीक्षा शाखामा तालाबन्दी गरेका छन् ।
तालाबन्दीपछि प्रतिष्ठानको पठनपाठन र नियमित परीक्षाहरु रोकिएको छ । आज आइतबार हुने बिएससी एमएलटीको परीक्षा तथा एमबीबीएसका सबै परीक्षा स्थगित भएको छ । परीक्षा स्थगित भएपछि प्रतिष्ठानका डिन प्रा.डा. शिवेन्द्र झाले ‘परिस्थिति सहज भएपछि’ परीक्षा सञ्चालन हुने सूचना जारी गरेका छन् ।
सात महिना अघिदेखि सुरु भएको बढुवा प्रक्रिया रोकिएपछि प्रतिष्ठानका शिक्षकहरु एक हप्तादेखि आन्दोलित छन् । प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. ज्ञानेन्द्र गिरीले बढुवा प्रक्रिया सुरु गरेका थिए । उनी निलम्बनमा परेपछि निमित्त उपकुलपतिको जिम्मेवारी पाएका प्रतिष्ठानका रेक्टर प्रा. डा. सञ्जीवकुमार शर्माले समेत बढुवा प्रक्रिया अघि बढाएका थिए ।
कायममुकायम उपकुलपतिमा प्रा. डा. प्रल्हाद कार्की नियुक्त भएपछि उनले बढुवा प्रक्रिया रोकेका हुन् । कार्कीले आन्तरिक बढुवाका लागि लोक सेवा आयोगसँग राय माग गरेपछि आयोगले शिक्षक सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली २०७९ को प्रस्तावित मस्यौदा स्विकृत गरी आयोगबाट मात्र पदपूर्ति प्रक्रिया अघि बढाउन प्रतिष्ठानलाई निर्देशन दिएको छ ।
शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज अहमद खानले आन्तरिक रुपमा प्रतिष्ठान आफैले आन्तरिक बढुवाका सबै काम गर्न सक्ने भएपनि बढुवा प्रक्रिया रोक्नकै लागि आयोगलाई सोधिएको बताए ।
केही प्रोफेसरले परीक्षा सन्चालन गर्न लागेको सूचना पाएपछि आन्दोलनरत पक्षले तालाबन्दी गरिदिएको प्रतिष्ठानस्थित शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज अहमद खानले जानकारी दिए । उनले भने ‘तालाबन्दी गर्ने हाम्रो पूर्वनिर्धारित कार्यक्रम थिएन, आन्दोलनरत भीडले एग्रेसिभ भएर तालाबन्दी गरिदिएको छ ।’
प्रतिष्ठानका उपकुलपतिसँग हिजो बसेको शिक्षक कर्मचारीको छलफल बिना निष्कर्ष टुङ्गिएको थियो । उपकुलपति प्रा. डा. प्रल्हााद कार्कीले ‘मन्त्रीसँग छलफल गर्ने’ बताएपछि आन्दोलनरत शिक्षकहरु अझ रुष्ट बनेका छन् । शिक्षक चिकित्सकले शिक्षण, परीक्षा र अतिरिक्त जिम्मेवारीका सबै कार्यक्रम बहिष्कार गर्दै धर्नालगायतका आन्दोलन गर्दै आएका छन् ।
समाजको आन्दोलनले विद्यार्थीहरुको परिक्षा तथा पठनपाठन रोकिएप्छि प्रतिष्ठानका रजिष्टार प्रा.डा. सूर्यप्रसाद सग्रौलाले आन्दोलनप्रति प्रतिष्ठान गम्भीर रहेको भन्दै चाँडो निकास दिन आफूहरु लागेको बताए
प्रतिष्ठानमा बढुवा प्रक्रियामा १८ वर्षदेखि रोकिएका शिक्षक कर्मचारी छन् । बढुवा रोकिएका शिक्षक चिकित्सक प्रतिष्ठान छाड्नेहरुको तथ्यांकसमेत उल्लेखीय छ । अनुभवी शिक्षक, चिकित्सकले प्रतिष्ठान छाड्न थालेपछि प्रतिष्ठानको विश्वसनीयता र आर्थिक अवस्था धरासायी हुँदै गएको जानकार बताउँछन् ।
Discussion about this post