सुनसरी । सशस्त्र प्रहरी बलको बराह बाहिनी सुनसरीमा गोताखोर तालिम सुरु भएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वय तथा सहकार्यमा आइतबार सुरु भएको तालिमको कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेले उद्घाटन गरे ।
‘सिसम(४’ गोताखोर तालिममा दुईजना नेपाल प्रहरी र १८ जना सशस्त्र प्रहरी गरी २० जना जवानहरू सहभागी छन् ।
गोताखोर तालिम ५ हप्तासम्म सञ्चालन हुने सशस्त्र प्रहरी बल १ नं बराह बाहिनीका प्रहरी नायब उपरीक्षक (डिआइजी) अञ्जनीकुमार पोखरेलले बताए ।
तालिम अवधिमा प्रशिक्षार्थीहरूलाई पोखराको फेवाताल, कुलेखानीसहित नेपालका विभिन्न ठूला नदीहरूमा प्रशिक्षण दिइने बताइएको छ ।
डुबेर हुने मानवीय घट्नामा विपद् प्रतिकार्यको लागि गोताखोर तालिम अपरिहार्य भएकाले सशस्त्र प्रहरीले नेपालमै चौथो पटक यस किसिमको तालिम सुरु गरिएको डिआइजी पोखरेलले बताए ।
सशस्त्र प्रहरी बलका २५ जना सुरक्षा अधिकारीले पहिलो पटक २०६९ वैशाखमा बङ्गलादेशमा गोताखोर तालिम लिएर आएका थिए । उनीहरूकै सहयोगमा नेपालमा पहिलो पटक २०७६ असोजमा सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी सुनसरीमा गोताखोर तालिम भएको थियो ।
कूल ३७ हजार जनशक्ति रहेको सशस्त्र प्रहरीसँग अहिले ८३ जना मात्र गोताखोर तालिम लिएका सुरक्षाकर्मी छन् । उनीहरू मुलुकका विभिन्न गहिरो ताल, तलैया, पोखरी तथा नदीहरूमा डुबी बेपत्ता तथा घाइतेको खोजतलास लगायत उद्धार कार्यमा संलग्न हुँदै आइरहेका छन् ।
Discussion about this post