सङ्खुवासभा । मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् ।
गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जपीडित संघर्ष समितिले विद्युत गृहस्थल र प्रवेशमार्ग बन्द गरेका हुन् । अरुण तेस्रो प्रवेशमार्गको छ्याङ्कुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाइ भएको बताइएको छ ।
अरुण प्रवेशमार्ग संघर्ष समितिका संयोजक जनीकुमार राईले अरुण तेस्रो प्रवेशमार्गको २४ किलोमिटर क्षेत्रको मुआब्जा वितरण गर्न सरकारले आलटाल गरेको आरोप लगाए । जग्गाधनीलाई मुआब्जावापतको रकम दिने भनेर निर्धारण भइसकेको मुआब्जा रोकिएपछि बाध्य भएर अनिश्चितकालीन आन्दोलनमा उत्रिएको उनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा गठित छुट मुआब्जा निर्धारण समितिले गत २६ वैशाखमा छ्याङ्कुटी–दिदिड सडकखण्डको प्रतिरोपनी ११ लाख ७५ हजार रूपैयाँ दिने निर्णय गरेको थियो । तर हालसम्म पनि मुआब्जा नपाएपछि स्थानीय आन्दोलित बनेका हुन् । अरुण तेस्रो विद्युत आयोजना निर्माण भारतीय कम्पनी सतलजले गरिरहेको छ । मुआब्जापीडित संघर्ष समितिका संयोजक राईले माग सम्बोधन गर्न सरकारसँग आग्रह गरे ।
Discussion about this post