काठमाडौं । नेपाल चिकित्सक संघले आज (आइतबार) देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गर्ने भएको छ ।
आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । संघले शनिबार विज्ञप्ति जारी गर्दै आज देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरुमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवाहरु पूर्ण रुपमा बन्द गर्ने जनाएको छ ।
गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरेको थियो । दोषीलाई कारबाहीको प्रक्रिया अघि नबढाएको भन्दै संघले आन्दोलनको घोषणा गरेको हो ।
स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिले नै मेलमिलापको बाहनामा घटनालाई निस्तेज पार्न खोजेको संघको आरोप छ । ती निकायमाथि पनि छानबिन गर्न संघले माग गरेको छ ।
संघले उक्त घटनामा संलग्न दोषीहरूको अबिलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्ने जनाएको छ ।
देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
Discussion about this post