काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यार्थीले सफलताको भोक राख्नुपर्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यार्थीले सफलताको भोक राखेर अघि बढ्नुपर्ने बताए।
जिन्दगीको सबैभन्दा ठूलो कुरा भनेको खुसी कसरी हुने भन्ने रहेको बताउँदै उनले हरेक मानिस जहिल्यै पनि तनावमा रहने गरेको तर सानो तिनो हारलाई पनि सहजै लिन जान्नुपर्ने बताए।
उनले सांसदहरुलाई अर्को चुनाव कसरी जित्ने भन्ने चिन्ता, ५ पटक प्रधानमन्त्री भइसकेको व्यक्तिलाई छैटौं पटक किन भइएन भन्ने चिन्ता र प्रधानमन्त्रीलाई बेलुका पद जाने हो की भन्ने चिन्ता हुने गरेको बताए।
उनले भने,‘जिन्दगीको सबैभन्दा ठूलो कुरा भनेको खुशी कसरी हुने भन्ने हो । तपाईहरुले सफलताको भोक पनि राख्नुस्। परीक्षा छ भनेर घरबाट निस्किने बेलामा विद्यार्थीहरु तनावमा रहने गर्दछन्। म अहिले चुनाव जितेर सांसद छु, मलाई अब ४ वर्षपछि कसरी चुनाव जित्ने भनने तनाव छ। ५ पटक प्रधानमन्त्री भएको मान्छेलाई ६ पटक किन भएन भन्ने तनाव छ। अहिले भएको प्रधानमन्त्रीलाई भरे बेलुका प्रधानमन्त्री खुस्केला की भन्ने तनाव छ। सबै मान्छे जीवनमा बिहानदेखि बेलुकासम्म तनावमा बाच्ने रहेछन्। सानो तिनो हारलाई पनि सहजै लिन जान्नुपर्छ। काम गर्ने हो तर फलको आश नगर्ने हो। कर्म इमान्दारिताका साथ गर्नुपर्छ।’
Discussion about this post