काठमाडौं । कार्यबाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि चीनका राजदूत चेन सोङ्गले रक्षा मन्त्रालय, सिंहदरबारमा मंगलबार शिष्टाचार भेटघाट गरेका छन् ।
भेटका अवसरमा खड्काले नेपाल र चीनबीच सदियौं पुरानो दुईपक्षीय सुमधुर सम्बन्ध रहेको बताएका थिए ।
नेपाल एक चीन नीतिप्रति सदैव दृढतापूर्वक प्रतिबद्ध रहेको र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता उनले व्यक्त गरे ।
नेपालको आर्थिक एवम् पूर्वाधार विकासमा चीनले गर्दै आएको सहयोगको लागि कार्यबाहक प्रधानमन्त्री खड्काले आभार व्यक्त गरेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालबाट आगामी साता हुने चीन भ्रमणलाई सरकारले उच्च प्राथमिकतामा राखेको र भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पुर्याउने विश्वास उनले व्यक्त गरे ।
सोही अवसरमा उनले नेपाली सेनाको क्षमता अभिवृद्धिमा चीनले पुर्याउँदै आएको सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गरे ।
चीनका राजदूत चेन सोङ्गले नेपालका प्रधानमन्त्रीको आसन्न भ्रमणलाई चीन सरकारले उच्च प्राथमिकता दिएको बताएका थिए ।
उक्त अवसरमा रक्षा मन्त्रालयका सचिव, सहसचिव, परराष्ट्र मन्त्रालयका अधिकृत साथै, चिनियाँ राजदूतावासका अधिकारीहरुको समेत उपस्थिति थियो ।
Discussion about this post