काठमाडौं। आज संघीय संसदका तीन संसदीय समितिको बैठक बस्दै छ ।
बुधबार सिंहदरबार स्थित तिनै समितिको सभाकक्षमा प्रतिनिधि सभा अन्र्तगतको पूर्वाधार विकास समिति,उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राष्ट्रिय सभा अन्र्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बोलाईएको हो ।
प्रतिनिधि सभा अन्र्तगतको पूर्वाधार विकास समितिमा आज सडक पूर्वाधारको अवस्था र सार्वजनिक सवारी साधनका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गर्ने तय भएको छ ।
साथै समितिमा ग्वार्को स्थित निर्माणाधिन फलाइओभर, कलंकीदेखि बसुन्धारासम्म चक्रपथ विस्तार आयोजना र कालिमाटी स्थित विष्णुमती खोलामा निर्माण सम्पन्न भइ प्रयोगमा नआएको पुलको स्थलगत निरीक्षणका समबन्धमा समेत छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बैठक बिहान ११ बजेलाई डाकिएको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पनि बैठक बिहान साँढे ११ बजेको लागि बोलाइएको छ । बैठकमा नेपालमा उत्पादित सुपारी निकासी सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने तय भएको छ ।
यता राष्ट्रिय सभा अन्र्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि दिउँसो १ बजेको लागि बोलाइएको छ । बैठकमा सीमा सुरक्षा तथा यसको व्यवस्थापनमा देखिएका प्रमुख सवाल, समस्या तथा चुनौती र भावी कार्यदिशाबारे छलफल गरिने कार्यसूची रहेको छ ।
Discussion about this post