उदयपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले जनभावनाअनुसार नै काम गरेको उल्लेख गरिरहँदा संस्थापन इतर समूह भने आफै सहभागी सरकारको चर्को आलोचना गरिरहेको छ ।
वर्तमान केपी शर्मा ओली नेतृत्वको काँग्रेस नै सहभागी सरकारले पनि जनताका भावना अनुसारको काम गर्न नसकेको भन्दै नेताहरू चर्को विरोधमा उत्रिएका छन् ।
शनिवार काँग्रेस त्रियुगाले उदयपुरमा आयोजना गरेको बीपी कोइरालाको सालिक अनावरण तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापन इतर समूहको नेतृत्व गरिरहेका नेता डा.शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैलीप्रति व्यापक असन्तुष्टि जनाए ।
नेता कोइरालाले सात बुँदे सहमतिमा निर्माण भएको वर्तमान सरकारले सहमति अनुसार कुनै काम नगरेको दाबी गरेका छन् ।
मुलुकको प्रधानमन्त्रीले नै भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्नुभएको छ, तर कस्तो अवस्था छ भन्ने कुरा भनिरहनुपर्ने आवश्यकता छैन । देशको जुन अवस्था छ त्यो अवस्थाले भोलिको दिन कसरी जान्छ भन्ने कुरा अत्यन्त गम्भीर विषय बनेर गएको छ ।’ कोइरालाले भने ।
नेता कोइरालाले वर्तमान सरकार संविधान संशोधन लगायतका महत्त्वपूर्ण काम गर्ने गरी काँग्रेससँगको ७ बुँदे सहमतिमा निर्माण भएको बताउँदै सरकारले संविधान संशोधनको कार्य सुरु नगरेकामा आपत्ति जनाए ।
संविधान संशोधन गर्न वर्तमान सरकारले अन्य दलसँग पनि सहकार्य सुरु गर्नुपर्ने उनले जोड दिएका छन् । कार्यक्रममा बोल्दै काँग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले पनि सरकारले नराम्रो काम गर्दा समेत पार्टीले आलोचना गर्न रोक लगाउने निर्णय गरिरहेको उल्लेख गरे ।
‘हाम्रो मुख्य प्रतिस्पर्धी दल भनेको एमाले नै हो अब हामीले केन्द्र देखी तलसम्मै सरकारको विरोध नगर्ने संयन्त्र बनाउने भनिरहेका छौँ, यस्तो निर्णयले काँग्रेस कहाँ पुग्छ ? उनको प्रश्न थियो । यस्तै नेता गुरुराज घिमिरे तथा केदार कार्कीले वीपी कोइरालाको मार्गदर्शनमा पार्टी र सरकार चल्नुपर्नेमा त्यसो नभएको प्रति आपत्ति जनाएका छन् ।
कार्कीले सरकारले रवि लामिछाने थुन्न लक्षित काम मात्र गरिरहेको उल्लेख गरे । उनले भने, ‘सरकार रविलाई थुन्नलाई समिति बनाउँछ तर जनताको पैसा फिर्ता गर्न समिति बनाउनु पर्दैन यसमा काँग्रेसको निर्णय हुनु पर्दैन ? ’ उनले भने ।
नेता कार्कीले बिपीले कल्पना गरेको काँग्रेस र मुलुक डा।शेखर कोइरालाको नेतृत्वमा मात्र सम्भव रहेको उल्लेख गर्दै महाधिवेशनको तयारीमा जुट्न आह्वान गरे । कार्यक्रममा सहभागी वक्ताहरूले वीपी कोइरालाले अनुसरण गरेका कार्यहरू अक्षरशः पालना गर्नुपर्नेमा जोड दिएका छन् ।
Discussion about this post