बेलबारी : संसारमा करिब ३ सय प्रजातिका कछुवा रहेका छन् जसमध्ये ६१ प्रतिशत अति सङ्कटापन्न सूचिमा रहेका छन् । पृथ्वीमा कछुवा नभए जलीय र स्थलमय इकोसिस्टम बिग्रने विज्ञहरूको सुझाव सँगै अमेरिकन ‘कछुवा उद्धार’ नामक संस्थाले सन २००० देखी विश्व कछुवा संरक्षण दिवस मनाउन थालिएको हो ।
नेपाल सरकारले आधिकारिक रूपमा कछुवा संरक्षण दिवस मनाउने गरेको नभएता पनि सम्बन्धित संस्थाहरूले दुई दशक यता देखी हरेक अङ्ग्रेजी महिना मे २३ का दिन यो दिवस मनाउँदै आइरहेको प्रोफेसर डाक्टर कालूराम खम्बु राईले बताउनुभयो ।
बिहीबार अन्तर्राष्ट्रिय कछुवा संरक्षण दिवसको अवसरमा सुखानी सहिद स्मृति उद्यान कछुवा तथा संरक्षण केन्द्र झापा र बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूह बेलबारी मोरङको संयुक्त आयोजनामा बेतना सिमसार स्थित कछुवा संरक्षण सम्बन्धी कार्यक्रम भएको छ । हाल प्रतिनिधि सभा सांसद समेत रहनुभएका प्रोफेसर डा. राईले भन्नुभयो “ नेपालको तराई क्षेत्रलाई मरुभुमिकरण हुनबाट जोगाउन कछुवा संरक्षण सबैको दायित्व रहेको हुँदा कछुवा रहे मात्र सिमसार रहनेछ” ।
राईका अनुसार “कछुवा संरक्षण इं.सं १८८५ बाट सुरु भएको हो र इं.स १९९२ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष र आर्को नेपाल बिचको सहकार्यमा चितवन स्थित कछुवा संरक्षण केन्द्र स्थापना भएको ” बताउनुभयो ।
राज्यले सुरुवाती चरणमा कछुवा संरक्षणको प्रयास गरेता पनि पछिल्लो समय त्यसलाई निरन्तरता दिन नसकेको डा. राईले बताउनुभयो । उहाँले भन्नुभयो कछुवाको संरक्षणको विषयमा आफूले पटक पटक सदनमा समेत कुरा उठाएको उहाँले भन्नुभयो ।
अन्तर्राष्ट्रिय कछुवा संरक्षण दिवसले कछुवाबारे सचेतना, महत्त्व दर्साउने र संरक्षणमा मानिसहरूलाई प्रेरित गर्ने वातावरण पत्रकार साथै प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले बताउनुभयो । साईटिस सन्धिले कुनै पनि कछुवाको अन्तर्राष्ट्रिय रूपमा ओसारपसार रोकेको अधिकारीले बताउनुभयो ।
झापाको भद्रपुर स्थित इं.स २००० मा वातावरण पर्यावरणीय संस्था द्वारा कछुवा अध्यापन तथा अनुसन्धान केन्द्र स्थापना भएको थियो, पछि त्यसलाई स्थानान्तरण गर्दै झापाको सालवारिमा रहेको सहिद स्मृति पार्क स्थित आर्को नेपालको सहयोगमा दश कट्ठा जमिन क्षेत्रफलमा कछुवा उद्धार तथा संरक्षण केन्द्र स्थापना भएको छ ।
उक्त केन्द्रमा एक सय भन्दा धेरैको सङ्ख्यामा कछुवाहरू रहेको कछुवा अनुसन्धानकर्ता तपिल प्रकाश राई बताउनुहुन्छ । राई सँगै सविन अधिकारी पनि शालवारि स्थित कछुवाको अध्यापन अनुसन्धान गरिरहनुभएको छ ।
तपिल प्रकाश राई सहित अस्ट्रियाका वैज्ञानिक डा. पिटर प्रस्छाङको नेतृत्वमा भएको अनुसन्धानले मोरङको बेतना सिमसारमा सन २०२२ मा आरको नेपालको सहयोगमा नयाँ जातको व्लाक सफ्ट सेल (कालो नरम खबटे) प्रजातिको कछुवा फेला पारेको थियो । अति सङ्कटापन्न सूचिमा रहेको ‘ब्ल्याक सफ्ट सेल’ नामक कछुवा बेतना सिमसार स्थित दुई दर्जन भन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाइएको हो ।
“बेतना सिमसारमा धेरै अघि देखी पाउने गरिएको ती कछुवालाई मयुर प्वाँखे कछुवा भन्ने गरिन्थ्यो, तर त्यसको च्यापु हेरेपछि थाहा भयो यो नेपालको लागी नयाँ प्रजातिको कछुवा भनेर” वातावरण पत्रकार साथै प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले बताउनुभयो ।
जसको वैज्ञानिक नाम निलोस्सोनिया निगृकन्स रहेको छ । उक्त अनुसन्धान टोलीका एक सदस्य तपिल प्रकाश राईका अनुसार उक्त कछुवा आईयुसीएन मा अति सङ्कटापन्न प्रजातिको रूपमा सूचिकृत रहेको बताउनुभयो ।
नरम स्वभावको, मानिस सँग घुलमिल हुन रुचाउने उक्त कछुवा ७० देखी ८० किलो सम्मको हुने र बेतना सिमसारमा करिब दुई दर्जनको सङ्ख्यामा रहेको अनुसन्धान टोलीका सदस्य तपिल प्रकाश राईले जानकारी दिनुभयो । भारत र बङ्गलादेशको केही स्थानमा मात्र भेटिने उक्त कछुवा झट्ट हेर्दा मयुर प्वाँखे कछुवा सँग मिल्दोजुल्दो देखिन्छ तर फरक प्रजातिको रहेको राईले बताउनुभयो ।
ठुला प्रजातिहरूको संरक्षणमा सरकारले चासो देखाए पनि कछुवाका लागि भने ध्यान नदिएको अनुसन्धान कर्ताहरू बताउनुहुन्छ । सरकारी स्तरबाटै यो प्रजाति संरक्षणका लागि चासो हुनुपर्ने उहाँहरूको माग रहेको छ । सर्वाहारी(अनिभर्स) यो कछुवा आईयूसीएन रेड लिस्टमा इन्डेन्जर्ड सूचीमा छ । अर्थात् यो प्रजातिको कछुवा र बाघ दुवै एउटै सूचीमा छन् ।
बाघको संरक्षणमा जति महत्त्व छ, यो कछुवा संरक्षणमा पनि त्यति नै महत्त्व छ । “ठुलो टाउको पिठ्यूँ(खबटा)मा बुट्टा जस्तो देखिने ठ्याक्कै, मयुरको प्वाँखको बिच भागको आँखा जस्तो देखिने बुट्टा बाहिरी आवरण हेर्दै थाहा हुन्छ मयुर प्वाँखे कछुवा” स्थानीय बेलबारी ४ का वसन्त नेपालले बताउनुभयो ।
आज नेपाल,भारत,पाकिस्तान र बङ्गलादेशमा मात्रै पाइने मयुर प्वाँखे कछुवा नेपालमा पाइने कछुवा प्रजातिहरू भन्दा केही ठुलो हुन्छ । रातको समयमा सक्रिय हुने यो प्रजातिले शंखेकिरा, माछा, गँड्यौला लगायतका स–साना प्रजाति खान्छ । एक पटकमा २० देखि ३० वटासम्म फुल पार्छ । अगस्ट र नोभेम्बर महिनामा फुल पार्ने र जुनदेखि जुलाईमा कोरल्छ ।
दलदलमा बस्ने यो कछुवाले माटो मुनी नै बस्न रुचाउँछ । भाले भन्दा पोथी केही ठुलो हुने यो प्रजातिको कछुवा नेपालमा अधिक चोरी सिकार हुने प्रजातिभित्र पर्छ । यो प्रजातिको बारेमा अध्ययन अनुसन्धान कम हुँदा यसको अवस्थाबारे थाहा हुन छाडेको छ । २०७५ सालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रकाशन गरेको एक विवरणमा उक्त प्रजातिको कछुवा सुनसरी, चितवन र बर्दियामा पाइने उल्लेख छ ।
Discussion about this post