विराटनगर । सीमा कटाएर भारततर्फ लैजान लागिएको ठूलो परिमाणको लागूऔषध गाँजा मोरङबाट बरामद भएको छ ।
नेपाल र सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रनजिकको भिन्दाभिन्दै स्थानबाट गाँजा बरामद गरेका हुन् । इलाका प्रहरी कार्यालय रानीको टोलीले मंगलबार राति ११ः३० बजेतिर विराटनगर–१४ जतुवाबाट १ सय ८१ किलोग्राम गाँजा बरामद गरेको छ । इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले प्रदेश १–०२–००१ ख ९२७० नम्बरको मिनी ट्रकबाट गाँजा बरामद गरेको हो ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार खाली सिलिन्डर लोड गरी कच्ची सडकको साइडमा रोकेर राखेको ट्रक खानतलासी गर्दा गाँजा फेला परेको छ । ट्रकको पछाडि बोरामा प्याक गरी माथिबाट कुचोले छोपेर राखिएको अवस्थामा गाँजा भेटिएको जानकारी उनले दिए । गाँजा बरामद भएपछि ट्रक र चालकलाई पनि नियन्त्रणमा लिइएको एसपी कार्कीको भनाइ छ ।
मिनी ट्रकलाई नियन्त्रणमा लिएर चालक संखुवासभाको चैनपुर नगरपालिका–१ बस्ने २७ वर्षीय लाक्पा दोर्जे शेर्पालाई पक्राउ गरिएको उनले बताउ । चालक शेर्पाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।
त्यस्तै, सशस्त्र प्रहरीले जहदा–१ मुसहरी टोलबाट मंगलबार साँझ ९० किलो गाँजा बरामद गरेको छ । मकै बारीमा लुकाएर राखेको विशेष सूचनाका आधारमा बीओपी (बोर्डर आउट पोस्ट) मधुमल्लाबाट खटिएको सइ लोकबहादुर बस्नेत नेतृत्वको टोलीले नेपाल–भारत सीमा क्षेत्रनजिकबाट मंगलबार साँझ गाँजा बरामद गरेको हो ।
गाँजा कसले लुकाएको हो भन्ने यकिन हुन सकेको छैन । गाँजाको धन्दामा संलग्नको खोजी भइरहेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्काले बताए । उनका अनुसार बरामद भएको गाँजा आवश्यक अनुसन्धान र कारबाही अघि बढाउन नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।
‘मकै बारीभित्र लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको हो,’ एसपी खड्काले भने, ‘लुकाउने मान्छे फेला परेनन् ।’ नेपाल र सशस्त्र प्रहरीले बरामद गरेको गाँजाका सम्बन्धमा इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले अनुसन्धान अघि बढाएको छ । अवैध धन्दामा संलग्नले भारततर्फ कटाउने योजना बनाएर सीमा क्षेत्रनजिक पुर्याएको गाँजा बरामद भएको प्रहरीको भनाइ छ ।
Discussion about this post