मिथिलेश यादव
लहान : गोलबजार नगरपालिकाले गागन खोलामा नदीजन्य पदार्थ गिटी, बालुवा उत्खनन गर्न ठेकेदारलाई एस्काभेटर प्रयोग गर्ने अनुमति दिएपछि अनियन्त्रित दोहनले सीमा नाघ्यो। स्थानीयले नियामक र नियन्त्रणकारी निकाय गुहार्दा पनि दोहनलीला बन्द भएन। दोहन भैरहेको क्षेत्र सरकारले घोषणा गरेको चुरे संरक्षित हो। संरक्षित क्षेत्रभित्रै सीमाहीन दोहन भैरहँदा पनि नियामक निकायको सन्देहपूर्ण मौनताले मिलेमतो प्रस्ट्याएको स्थानीयको आरोप छ।
आर्थिक वर्ष २०८०/८१ का लागि ७५ लाख ५१ हजार रुपैयाँमा गागन नदी ठेक्कामा लिएको जय शम्भु कन्स्ट्रक्सन कम्पनीले तीनवटा एस्काभेटर र दर्जनौं टिपर र दुई दर्जनभन्दा बढी ट्याक्टर प्रयोग गरेर गागन नदी उत्खनन गरिहेको छ। ठेक्का सम्झौतामै एस्काभेटर प्रयोग गर्ने उल्लेख छ। अनियन्त्रित दोहनले नजिकैको वसन्तचौर सामुदायिक वनसमेत कटानको जोखिममा परेको स्थानीय बताउँछन्।
जय शम्भु कन्स्ट्रक्सन कम्पनीले लगडी गदियानी–जमदह सडक निर्माणको ठेक्का पनि पाएको छ । सडक निर्माणका लागि गिटी, बालुवा चाहिने भन्दै उक्त कम्पनीले नदीजन्य पदार्थ निकाल्दा एस्काभेटर प्रयोग गर्न पाउन गोलबजार नगरपालिकामा निवेदन दिएको थियो। कम्पनीले मागेबमोजिम नगरपालिकाले वातावरणीय अध्ययन प्रतिवेदन बनाएर २६ सय मिटर लम्बाइ, १ सय मिटर चौडाइ र २ मिटर गहिराइसम्म उत्खनन गर्न इजाजत दिएको थियो।
नगरपालिकाले यसरी नदी उत्खनन गर्न अनुमति दिए पनि स्थानीयले विरोध गरे। वातावरणीय अध्ययन गुपचुप पारिएको स्थानीयको आरोप छ। सम्झौतामा ५० हजार घनमिटर भनिए पनि नगरपालिकाले झन्डै २ लाख घनमिटर उत्खनन गर्न अनुमति दिएको छ।
त्यस्तै लहान नगरपालिकाको खुट्टी खोला, धनगढीमाई नगरपालिकाको सर्रे खोला, कर्जन्हा र गणेशमान चारनाथ नगरपालिकाको संयुक्त कमला नदीमा चाइना रेल्वे इन्जिनियरिङ ग्रुप नम्बर २ कम्पनीले पनि चुरे संरक्षित क्षेत्रमा निरन्तर दोहन गर्दै आएको छ। लहान नगरपालिका र बलानबिहुल गाउँपालिकाको संयुक्त बलान नदीमा मापदण्डविपरीत उत्खनन गरिएको छ।
गणेशमान चारनाथ नगरपालिकाको चारनाथ खोला, महोत्तरीको रातु नदी, सप्तरीको सुरुंगा नगरपालिकास्थित चहका खोला र सिसुवारी खोलामा पनि अप्राकृतिक रूपमा दोहन भैरहेको छ। ढुंगा, गिटी, बालुवा संकलन तथा विक्री व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ विपरीत यी खोलाबाट नदीजन्य पदार्थको उत्खनन भइरहँदा पनि नियामक निकाय मौन छ।
दोहनको दुष्परिणाम
पूर्वपश्चिम राजमार्गमा पर्ने सिरहाको मिर्चैया बजारबाट करिब १५ किलोमिटर उत्तर–पूर्वको चुरे सिरानमा पर्छ अँधेरी गाउँ। मिर्चैया नगरपालिका–९ अँधेरी गाउँका शोभा लकान्द्री पानीका लागि छटपटिन थालेको लामो समय भयो।
गर्मीले इनार सुकिसकेको छ। उनले भने, ‘अब पानीबिनाका लागि तड्पिनुपर्ने अवस्था आएको छ।’ अँधेरी गाउँमा ३६ परिवारको बसोबास छ। खानेपानीको चरम अभाव यहाँको साझा समस्या हो। स्थानीय वीरेन्द्रकुमार यादवका अनुसार युवाले चोहर्वाबाट ट्याक्टरमा पानी बोकेर गाउँलेको प्यास मेटाइरहेका छन्।
चुरे सिरानको सिरहाको धनगढीमाई नगरपालिका–१३ भोर्लेनीका जनता पनि अहिले पानी नपाएर ‘काकाकुल’ बनेका छन्। पहिला हरेक बस्तीमा पानीको स्रोत इनार थियो। इनारमा प्रशस्त पानी हुन्थ्यो। स्थानीय ज्ञानेन्द्र राम भन्छन्, ‘चुरे र चुरे संरक्षित क्षेत्रमा दोहन अनियन्त्रित बनेपछि पानीको सतह तलतल जान थालेको छ । इनारहरू त सुकिसके। डिपबोरिङ गर्दा पनि पानी आउन छाडेको छ। चुरे र संरक्षित क्षेत्रमा दोहन नरोकिए खानेपानी संकट विकराल बन्नेछ।’
धनगढीमाई नगरपालिकाका बासिन्दा खानेपानी संकट निम्तिनुको मूल कारण चुरे र चुरे संरक्षित क्षेत्रका खोलानदीमा अनियन्त्रित दोहनलाई ठान्छन्। अनियन्त्रित दोहनले बस्तीबस्तीका इनार सुकेको डेनक मोक्तानले बताए।
मूल सुक्न थालेपछि धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ नवटोली बस्तीमा पनि खानेपानी समस्या भएको छ। चारनाथ खोला र कमला नदी उत्तरतर्फको चुरे पहाडमा भइरहेको अनियन्त्रित दोहनका कारण यस भेगका जनता ‘काकाकुल’ बन्दै गएको नवटोलीका कमल महतोले बताए।
महतोको घरसामुन्ने खानेपानी तथा ढल निकास विभागले बनाइदिएको इनार छ तर दुई वर्ष भयो त्यहाँ पानी आउन छाडेको छ। सिरहा गोलबजार नगरपालिकाका जनता पनि पानी नपाएर ‘काकाकुल’ बनेका छन्। चुरे नजिकैको यो नगरपालिकाका अधिकांश वडामा पानीको अभाव छ। मुहान सुक्न थालेपछि खानेपानीको समस्या चुलिँदै गएको रामस्वरूप महतो बताउँछन्।
चुरे क्षेत्र अनियन्त्रित दोहनका कारण मूल सुक्न थालेपछि सिरहा र धनुषा मात्र होइन, चुरेसँग जोडिएका मधेसका अन्य जिल्लामा पनि खानेपानीको समस्या उत्पन्न भएको छ। चुरे मूल भएका नदीमा पानी सुकेपछि मधेसका दक्षिणी क्षेत्रका गाउँबस्तीमा खानेपानीको समस्या हुन थालेको हो। पछिल्लो सयम दोहनको ‘इपिसेन्टर’ लहानको उत्तरवर्ती चुरे क्षेत्र बनेको छ। जसका कारण बरदमार, गोविन्दपुरलगायत क्षेत्रमा खानेपानीको अभाव हुन थालेको छ । पाँच वर्षअघिसम्म लहानमा ट्युबवेल जडान गर्दा ४० फिट गहिराइमा भेटिने पानीको सतह फेला पार्न अहिले १ सय २० फिटभन्दा तल जानुपर्छ।
भूमिगत खानेपानीको तह तलतल धकेलिँदा चुरे क्षेत्र र चुरे दक्षिण क्षेत्रमा पानीको अभाव चुलिएको हो । चुरेमा अनियन्त्रित दोहन नरोकिए स्थानीय बसाइँ सर्नुपर्ने अवस्था आउने वातावरण तथा जलाधार विज्ञहरूको भनाइ छ। बढ्दो पानी संकट समाधान गर्न चुरे र नदी संरक्षणप्रति गम्भीर बन्नैपर्ने चुरेविज्ञ डा. विजयकुमार सिंहले बताए। ‘पानीको अभाव वर्षैपिच्छे बढ्दैछ। चुरे र नदी संरक्षण नगरिए मधेसमा पानीका लागि मानिस आकुलव्याकुल हुनेछन्,’ उनले भने।
पछिल्लो समय चुरे दोहनको उर्वरभूमि महोत्तरी जिल्ला पनि हो । चुरे संरक्षित क्षेत्रभित्रको रातु खोला र चुरे क्षेत्रमा एस्काभेटर लगाएर दोहन तीव्र छ। चुरेमा अनियन्त्रित दोहनको कारण यस जिल्लाको उत्तरवर्ती भावर क्षेत्रमा मात्र होइन, दक्षिणवर्ती समथरमा पनि पानीको मुहान सुक्न थालेका छन्। जलेश्वर नगरपालिकामा धारा, चापाकल र इनारबाट पानी आउन छाडेको छ। जलेश्वर मात्र नभई बर्दिबास, गौशाला, भँगहा, औरही, बलवा, रामगोपालपुर, सम्सीलगायत पालिकामा समेत पानीको समस्या उत्पन्न भएको छ।
मधेस प्रदेशका रौतहट, बारा र पर्सामा पनि मूल सुकेर जनता ‘काकाकुल’ बनेका छन् । जंगल फँडानी, नदीजन्य पदार्थको अनियन्त्रित दोहनका कारण पानी स्रोत सुक्न थालेको स्थानीय बताउँछन्।
संवेदनहीन धन्दा
२०७१ साल असार २ गते सरकारले चुरे क्षेत्रलाई वातावरणीय दृष्टिकोणले ‘संवेदनशील क्षेत्र’ घोषणा गरेको थियो। त्यही दिन सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति बनायो। चुरे भावर तराईका लागि पानीको भण्डार हो। ‘चुरे, भावर भनेको त मधेसका लागि पानी जम्मा भएको प्राकृतिक भाँडो नै हो’, चुरेविज्ञ डा. विजयकुमार सिंह भन्छन्, ‘उसै पनि मधेस मरुभूमी जस्तै हुन थालेको छ। मधेसका कतिपय जिल्लामा सिँचाइको अभाव छ।
अब खानेपानीको पनि अभाव हुन थाल्यो।’ उनका अनुसार चुरे दोहन नरोकिए वातावरणीय विनास त निश्चित छ, मधेसमा खाद्यान्नसँगै खानेपानी संकट पनि निम्तिने पक्का छ। ‘मधेसका अधिकांश जिल्लाका गाउँबस्ती अहिले ‘काकाकुल’ बनेका छन्। इनारहरू सुक्न थालेका छन्। गहिरो गरी गाडिएका चापाकल (ट्युबवेल) बाटसमेत पानी आउन छाडेको छ। खानेपानी संकटले मधेसका गाउँबस्ती पिरोलिएका छन्,’ उनले भने, ‘यो सब संकटको कारक चुरे दोहन हो।’
सिंहका अनुसार चुरे क्षेत्र मधेसमा बसोबास गर्ने ६१ प्रतिशत जनताको जीवनरेखा हो । ‘मधेस–तराईमा बसोबास गर्ने बासिन्दाका लागि चुरे प्राण हो,’ उनी भन्छन्, ‘चुरेले मधेसमा पानी दिन्छ। चुरेले अन्नबाली उत्पादन तथा बाँच्नका लागि आधार प्रदान गर्छ । यसलाई पूर्ण रूपमा संरक्षण गर्नुपर्छ।’
चुरे मामिला जानकारका अनुसार, ढुंगा, बालुवा, गिटी जस्ता खुकुलो पत्रे चट्टानले बनेको र महाभारतबाट आएका नदीहरू यही चुरे क्षेत्र भएर तराईतर्फ बग्ने हुँदा प्राकृतिक रूपले यो क्षेत्र अत्यन्त संवेदनशील मानिन्छ। चुरे दोहनको प्रभाव समग्र मधेस–तराई क्षेत्रमा पर्ने वातावरणविद् बताउँछन्।
विज्ञहरू चुरेलाई हिमालय पर्वत शृंखलाको कान्छो पहाड भन्छन्। शिवालिक नामलेसमेत चिनिने यो पहाड शृंखला करिब ४ करोड वर्ष पहिले नदीजन्य पदार्थ थुप्रिएर बनेकाले अत्यन्तै संवेदनशील रहेको उनीहरूको भनाइ छ।
चुरे जोगाउन काठमाडौंसम्म पैदल यात्रा
मधेसमा मूल सुकेर खानेपानीको हाहाकार मच्चिएपछि सुनिल यादवको नेतृत्वमा विभिन्न जिल्लाका गरी २३ जनाको टोली २५ दिन हिँडेर काठमाडौं पुगेको झन्डै एक महिना भयो। उनीहरूले मधेस प्रदेशको पूर्वी सीमाना भारदहबाट यात्रा सुरु गरेका थिए।
यो क्षेत्र संघीय सरकारका वन तथा वातावरणमन्त्री नवलकिशोर साहको निर्वाचन क्षेत्र हो। उनीहरू चुरेको अनधिकृत दोहन, उत्खनन र वन फँडानी नरोकिँदा वातावरण विनाससँगै खानेपानीको संकट चुलिएको भन्दै उनीहरू सरकारलाई दुःख सुनाउन काठमाडौं पुगेका हुन्।
अनियन्त्रित रूपमा चुरे दोहन गर्दा मधेसमा पानीको संकट निम्तिएको चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादव बताउँछन्।
चुरे संरक्षणका लागि यो उनीहरूको दोस्रो काठमाडौं यात्रा हो। यसअघि अघिल्लो असारमा पनि ११ दिन हिँडेर मधेसवासी काठमाडौं गएका थिए। त्यतिबेला सरकारले उनीहरूका माग पूरा गर्ने प्रतिबद्धता जनाएको थियो। तर त्यो प्रतिबद्धता पूरा नभएपछि फेरि उनीहरू काठमाडौं गएका हुन्।
आजको नागरिक दैनिकमा प्रकाशित छ ।
Discussion about this post