काठमाडौँ : नेपाल राष्ट्र बैंकले खुकुलो नीति लिएसँगै करिब दुई वर्षपछि घरजग्गा कारोबारमा उच्च वृद्धि भएको छ । सरकारले ०७९ जेठ २३ मा भूउपयोग नियमावली जारी गरेसँगै सोही वर्षको साउनदेखि घरजग्गा कारोबार ओरालो लागेको थियो ।
०७९ साउनमा ३३ हजार ८ सय ३४ घरजग्गा लिखत पास भएकामा दुई वर्ष पुग्नै लाग्दा गएको जेठ महिनामा यो संख्या झन्डै दोब्बर हुँदै ६१ हजार १ सय ६१ लिखत पास भएको छ । बीचमा कारोबार सबैभन्दा तल झर्दै २०८० असोजमा २५ हजार ७ सय ८९ र २०८१ कात्तिकमा २६ हजार ४६ मात्र घरजग्गा लिखत पास भएका थिए ।
जेठमा भएको घरजग्गा कारोबार वैशाखको तुलनामा समेत अत्यधिक वृद्धि हो । वैशाखको तुलनामा जेठमा २३ प्रतिशतले कारोबार बढेको देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार जेठमा घरजग्गा कारोबार र राजस्व दुवै बढेको हो ।
जेठ पहिलो साता मौद्रिक नीतिको तेस्रो त्रैमासिकमार्फत राष्ट्र बैंकले लचिलो नीति लिएपछि सकारात्मक प्रभाव परेको छ । घर जग्गा खरिदमा ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेस गरेका आधारमा ७० प्रतिशत कायम गरिएको छ ।
यसअघि ऋणीले बैंकमा पेस गरेको कर चुक्ता आयको ५० प्रतिशतसम्म मासिक किस्ता हुने गरी कर्जा लिन पाइने व्यवस्था थियो । त्यो परिमार्जन गरी राष्ट्र बैंकले कर चुक्ता आयको ७० प्रतिशत मासिक किस्ता हुनेसम्मको ऋण लिन पाउने व्यवस्था गरेसँगै कारोबार बढेको छ ।
मौद्रिक नीति संशोधनले घरजग्गा कारोबारमा वृद्धि देखिएको नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले बताए । ‘जेठ महिनामा घरजग्गा कारोबारमा सुधार आउनु मौद्रिक नीतिकै प्रभाव हुनुपर्छ,’ उनले भने, ‘घरजग्गा कारोबार र राजस्वमा दुवैमा सुधार देखिएको छ ।’
गत जेठमा मात्रै नयाँ ७३ लाख ५ सय ४४ पटक कित्ताकाट भएको छ । समग्रमा हालसाविक, संशोधन, जग्गा बाँडफाँटलगायत गरी जेठमा कुल १ लाख ६५ हजार ४ सय पटक कित्ताकाट भएको विभागले जनाएको छ । विभागका अनुसार वैशाखमा कुल १ लाख ३० हजार ६३२ पटक कित्ताकाट हुँदा नयाँ मात्र ५८ हजार १३४ पटक भएको थियो ।
विभागका अनुसार वैशाखमा ४९ हजार ७८२ वटा नयाँ कारोबार हुँदा जेठमा ६१ हजार १६१ कारोबार भएको छ । कुल कारोबार भने वैशाखमा १ लाख ४१ हजार ७ सय ८२ वटा हुँदा जेठमा १ लाख ७५ हजार ६२० वटा भएको विभागले जनाएको छ ।
सरकारले घरजग्गा कारोबारबाट उठाउने राजस्वमा समेत वृद्धि भएको छ । विभागका अनुसार जेठमा ४ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ राजस्व उठाएको छ । जुन चालु आर्थिक वर्षका सबै महिनाको तुलनामै उच्च हो ।
चालु आर्थिक वर्षको असोजमा ४ अर्ब ८ कोड ६६ लाख रुपैयाँ उटाएको थियो । सबैभन्दा कम राजस्व कात्तिक महिनामा २ अर्ब १६ करोड ३८ लाख रुपैयाँ उठेको विभागले जनाएको छ । विभागले ११ महिनामा ३७ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ राजस्व उठाएको छ ।
आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
Discussion about this post