काठमाडौँ : काठमाडौँस्थित मीन भवनमा रहेको निःसहाय सेवा सदनमा तीजको गीत बज्न थालेपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकहरू टोल्हाउन थाले ।
सधैँजस्तै बिहानको खाना खाने समय उनीहरूका लागि अन्य दिनभन्दा फरक रहेको थियो । जहाँ हरितालिका तीज पर्वलाई ध्यानमा राखेर सार्वजनिक गरिएको ‘यसपालीको तीज रमाइलो’ गीत बजिरहेको थियो।
गीतकार निर्मलराज पौडेलले यसपटकको तीजलाई भिन्न ढङ्गले मनाउने सन्दर्भमा बुधबार (आज)उक्त सेवा सदनका ज्येष्ठ नागरिकहरूसँग तीज मनाउन पुगेका थिए । त्यस अवसरमा पौडेलले ज्येष्ठ नागरिकलाई आफू र गायिका शान्ति श्री परियारको स्वरबद्ध तीज गीत सुनाउँदै दरमा सामेल भएका थिए ।
‘चेलीबेटी ज्यानमाया माइतमै हाँसेर, तीज आयो ज्यानमाया छमछमी नाचेर’ बोलको गीत सुनेर ज्येष्ठ नागरिकहरूको मुहारमा खुसी छचल्किएको थियो।
त्यस अवसरमा काठमाडौँ महानगर–३१ का वडाध्यक्ष सरोज ढकालले पनि ज्येष्ठ नागरिकहरूका लागि वडाले सक्दो सहयोग गरिरहेको बताए । उनले भने, “निःसहाय सेवा सदनले ज्येष्ठ नागरिकहरूलाई आफ्ना परिवारको अभाव हुन दिइरहेको छैन, यो ज्यादै खुसीको कुरा हो र यहाँको व्यवस्थापन निकै लोभ लाग्दो छ।”
सेवा सदनका सह प्रशासकीय अधिकृत योगेश अधिकारीका अनुसार सदनमा ६५ देखि एक सय वर्षसम्मका ३९ जना ज्येष्ठ नागरिकहरू रहेका छन् ।
अधिकारीले भने, “यो अवस्थामा उहाँहरूलाई सबैभन्दा खड्किने कुरा भनेकै परिवार रहेछ । हामीले सक्दो गरिरहेका हुन्छौँ । तर पनि नौलो मान्छे र केटाकेटी देख्ने बित्तिकै टोल्हाउने, झ्यामिने गर्नुहुन्छ। आँखाबाट बरर आँसु झार्नुहुन्छ।” गीतकार पौडेलको शब्द र चर्चित गायिका शान्ती श्री परियार सङ्गीतकार मोहित मुनालको सृजनामा ‘यसपालीको तीज रमाइलो’ नामक गीत केही समय अघि सार्वजनिक भएको थियो ।
Discussion about this post