काठमाडौँ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण शनिबार बागमती नदीमा आएको बाढीका कारण बागमती करिडोर अहिले पनि हिलाम्मे छ । शनिबार बिहानसम्म बाढी बागमती करिडोर छिचोलेर बस्तीमा पसेपछि ठुलो क्षति भएको छ । ललितपुको धोबीघाट, बल्खु पुल, सानेपाको कालो पुल, युएन पार्कलगायत स्थानमा अहिलेसम्म हिलो छ ।
सवारीसाधन सञ्चालनमा आए पनि हिलो र धुलोका कारण बागमती करिडोरमा यात्रा असहज भएको यात्रीहरू बताउँछन् । बागमती करिडोरमा हिलो भएकाले सवारीसाधनको चाप कम त भएको छ, तर यसको असर मुख्य सडकमा परेको छ । जसले गर्दा पहिलेभन्दा अहिले सवारी जाममा पर्ने गरेका छन् ।
वैकल्पिक यात्रा गर्ने बागमती करिडोर हिलाम्मे अवस्थामा भएका कारण यात्रामा असहज भएको मोटरसाइकलयात्री पवन बोहोराले बताए । उनले भने, ‘जताततै हिलो छ, पुलमुनिको खाल्डोमा लेदोसहितको पानी भरिएकाले सवारी जाम हुने गरेको छ ।’
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती करिडोरको व्यवस्थापन गर्नुपर्ने ललितपुर महानगरपालिका– १ का वडाध्यक्ष निर्मल तण्डुकार बताउँछन् । उनी भनछन्, ‘बागमती करिडोर बाढीले डुबानमा परेको छ । मन्दिर, पाटी, आर्यघाटमा बाढीले ठूलो क्षति भएको छ । यसको व्यवस्थापनमा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति सक्रिय हुनुपर्छ ।’
त्यसैगरी अर्का मोटरसाइकलयात्री विनोद थापाले पनि हिलो र धुलोको कारण बागमती करिडोरको यात्रा असहज हुने गरेको बताए । उनले भने, ‘जिम्मेवार निकायले व्यवस्थापनमा छिटो पहल गरे ठुलो कुरो होइन, व्यवस्थापनमा नजुटेका कारण हालसम्म करिडोरमा हिलो छ ।’
अहिले बागमती करिडोर छेउछाउका बासिन्दा, बाढीले क्षति गरेको सामान व्यवस्थापनमा जुटेका छन् । बाढीका कारण घरभित्र छिरेको लेदो पन्छाउन, भिजेको कपडा सुकाउन स्थानीय लागेका छन् । सरकारको जिम्मेवार निकायसँग लेदो सफा गर्न पानी व्यवस्था गरिदिन स्थानीयको माग छ ।
Discussion about this post