विराटनगर : नेपाली कांग्रेस कोशी प्रदेश समितिले बाढीपहिरोका कारण समस्यामा परेका नागरिकलाई सहज वातावरणसहित दसैंमा घर जाने व्यवस्था बनाउन माग गरेको छ ।
बाढीपहिरोमा फसेर नागरिक समस्यामा परेको भन्दै कांग्रेस कोशीले घर जान सक्ने वातावरण मिलाउन प्रदेश सरकारसँग माग गरेको हो ।
विराटनगरमा बुधबार कांग्रेस कोशीका प्रवक्ता यदु विष्ट, नेता राजेश गुप्तालगायतले पत्रकार सम्मेलन गर्दै सर्वसाधारण नागरिकलाई सहजै दसैं मनाउन पाउने वातावरणका लागि विशेष पहल गर्न प्रदेश सरकारलाई अनुरोध गरेको छ ।
बाढी र पहिरोका कारण अवरुद्ध भएका सडकहरू यथाशीघ्र सञ्चालनमा ल्याउन पनि कांग्रेसले माग गरेको छ । केही दिनअगाडि भएको अविरल वर्षाका कारण देशैभरि ठूलो जनधनको क्षति भएको छ ।
कांग्रेसले देशको विषम परिस्थितिमा अकालमा मृत्युवरण गरेका नागरिकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको काम गरेको छ ।
मृतकका परिवारलाई विशेष राहतको व्यवस्था, पीडित परिवारलाई आवश्यक राहतको व्यवस्था र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन कांग्रेसले अनुरोध गरेको छ ।
साथै, राहत र उद्धारमा जुटन पनि आग्रह गरेको छ । ‘भर्खरै बनेको संयुक्त सरकारको सहकार्यलाई निरन्तरता दिनु अहिलेको आवश्यकता हो,’ कांग्रेसले भनेको छ, ‘तसर्थ, गठबन्धन गर्दा गरिएका सहमतिहरुलाई परिपालना गर्दै अघि बढ्न सरकारमा सहभागी सबै दल र पार्टीका साथीहरुलाई अनुरोध गर्दछौं ।’
साथै, पत्रकार सम्मेलनमार्फत देशमा राजनैतिक स्थायित्वको कामना पनि गरियो ।
Discussion about this post