काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मलेसियाले हालै आएको पहिरो परेर निधन भएका एन्फा यु १३ का खेलाडीका परिवारलाई सहयोग गर्ने भएको छ ।
एनसीसी मलेसियाले युवा खेलाडीका परिवारलाई जनही १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको कोषाध्यक्ष बाल ध्वज लिम्बूले जानकारी दिए ।
एन्फा उपाध्यक्ष दावा लामासँगको समन्वयमा मृतक खेलाडीका परिवारलाई सहयोग रकम हस्तान्तरण गर्नका लागि आफूहरू चाँडै नेपाल आउने बताए ।
सिस्नेरी पहिरोमा परेर एन्फा एकेडेमीका ६ जना खेलाडीको निधन भएको थियो ।
शनिवार इन्द्र सरोवर गाउँपालिका– ३ टेकरमा सिस्नेरी खोलामा आएको बाढी र पहिरोमा वत्सला माविमा सञ्चालन भइरहेको एकेडेमीमा अध्ययनरत ६ युवा खेलाडीको निधन भएको हो ।
घटनामा मकवानपुरका अनुप घलान, दिवस बानियाँ र साइमन योञ्जन रहेका छन् । यसै गरी काठमाडौँका रियान्स आचार्य, सर्लाहीका आदित्य बलपाकी र बाराका विकल रेग्मीको निधन भएको हो ।
एनसीसी मलेसियाले देशमा विपद् पर्दा आफूहरू कर्मभूमि भन्दा बाहिर भए पनि सहयोग गर्नु कर्तव्य रहेको भन्दै युवा खेलाडीहरूको निधनले अत्यन्त दुखित भएकाले सहयोग गर्न लागिएको बताए ।
अहिले पनि एन्फा उपाध्यक्ष लामासँग समन्वय भइरहेको जानकारी दिँदै एनसीसी मलेसियाका कोषाध्यक्ष लिम्बूले आउँदा दिनमा पनि आफूहरू नेपाली खेलकुदलाई सहयोग गर्न तयार रहेको बताए ।
Discussion about this post