विराटनगर । विराटनगर महानगरपालिका–९ मेनरोडको १ घरमा बसेर परीक्षा लेख्दै गरेका ३ जनालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्ने नक्कली परीक्षार्थीमा सप्तरी राजविराज–४ का २३ वर्षीय सन्तोष गुप्ता, सुनसरी बर्जु–५ चिमडीका २४ वर्षीय विक्लप चौधरी र रामगञ्ज–४ का देवकृष्ण साह रहेका छन् । पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान थालिएको डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
महेन्द्र मोरङ क्याम्पसमा २ जना विद्यार्थीहरु परीक्षा हलभित्र बसेका र उनीहरुले वाट्एपमार्फत प्रश्नपत्र ‘आउट’ गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुले प्रश्नपत्र ‘आउट’ गर्ने र नक्कली परीक्षार्थीले घरको कोठामा बसेर उत्तर लेखिदिने गरेको डीएसपी जोशीले बताए ।
उनका अनुसार पक्राउ परेकाहरुले डेरा लिएको कोठामा बसेर प्रश्नको उत्तर लेख्ने र पुनः कलेजमा लगेर दिने गरेको पाइएको छ । क्याम्पसमा परीक्षा हलभित्र बसेकामध्ये १ जनाको नाम खुलेको छ भने अर्का व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
मोरङको रंगेली घर भइ विराटनगर मेनरोडमा डेरा लिएर बसेका दीपक यादव महेन्द्र मोरङ क्याम्पसमा जारी परीक्षाको हलभित्र बसेका थिए । पक्राउ परेका ३ जनाले यादवको डेरामा बसेर उत्तर लेख्ने र उत्तरपुस्तिका क्याम्पससम्म पुर्याइदिने गरेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको इन्स्पेक्टर राजेश दत्त नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । क्याम्पसमा बीबीएस र बीएड दोस्रो वर्षको ‘ब्याक पेपर’को परीक्षा चलिरहेको छ । यसअघि परीक्षा दिएर उत्तीर्ण हुन नसकेकाले पुनः परीक्षा दिइरहेका छन् ।
सोमबार परीक्षाको अन्तिम दिन थियो । सहायक क्याम्पस प्रमुख उमेश यादवका अनुसार बिहान र दिउँसो गरेर परीक्षा २ ‘सिफ्ट’मा गरिएको थियो । प्रत्येक दिन दिउँसो १ बजेदेखि परीक्षा हुने गरेको थियो । सोमबार दिउँसो बीएडको शिक्षा र बीबीएसको लेखा विषयको परीक्षा संचालन गरिएको सहायक क्याम्पस प्रमुख यादवले बताए ।
क्याम्पसका अनुसार यादव शिक्षा विषयको परीक्षार्थी हुन् । उनी परीक्षा हलभित्र बसिरहने र अरुलाई डेराबाट उत्तर लेखेर ल्याउन लगाउने गरेको प्रहरीले जनाएको छ । अर्का विद्यार्थीका बारेमा थप खुल्न सकेको छैन ।
यादवसहित अर्का विद्यार्थीले परीक्षा हलबाट उत्तर पुस्तिका लिने र शौचालयमा गएर वाट्सएपमार्फत बाहिर पठाउने गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरुले यादवको कोठामा बसेर उत्तर लेख्ने र क्याम्पसमा लगेर उत्तरपुस्तिका दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार यादवले २ घण्टापछि पुनः शौचालय गएर उत्तर पुस्तिका ‘रिसिभ’ गर्ने गरेको पाइएको छ । प्रहरीले पक्राउ परेकाको साथबाट उत्तरपुस्तिका र प्रश्नपत्रसमेत बरामद गरेको छ । ‘सिम्बोल नम्बर’सहितको उत्तरपुस्तिका बरामद भएको र थप अनुसन्धान अघि बढाइएको डीएसपी जोशीले जानकारी दिए ।
Discussion about this post