इलाम : विदेशी मुद्रा आर्जन गर्ने नेपालको प्रमुख नगदेबाली अलैँची हो । पछिल्लो समय किसानसँग अलैँची छैन, तर दाम उच्च छ ।
हाल प्रतिमन (४० किलो)को मूल्य ८० देखि ८५ हजारमा खरिद बिक्री भइरहेको छ । माग, आपूर्ति र उत्पादनमा भर पर्नुपर्ने अलैँचीको मूल्य भारतीय व्यापारीको मौखिक मूल्यमा नै निर्भर रहनु परिरहेको छ ।
भाततर्फबाट कुनै लिखित मूल्य हेर्न र पढ्न पाइँदैन । भारतीय व्यापारीले महंगो मूल्यमा खरिद गर्दा महंगोमा नै, सस्तो मूल्यमा खरिद गर्दा सस्तो मूल्यमा नै अलैँची खरिद बिक्री भइरहेको बताइन्छ ।
खासगरी मसलाका रूपमा भारतमा निर्यात हुने अलैँची भारतकै मागका आधारमा मूल्यमा घटबढ हुने गरेको छ । किसानसँग अलैँची सकिँदै गएपछि दाम उकालो चढ्न थालेको छ । बितेका चार वर्ष यताकै उच्च मूल्यमा हाल अलैँची बिक्री भइरहेको व्यापारीहरू बताउँछन् ।
चार वर्षअघि २८ देखि ३० हजार प्रतिमन खरिद बिक्री भएको अलैँची हाल ८५ हजार भन्दा बढी पुग्नुले पनि मूल्य बढेको स्पष्ट हुन्छ । त्यसो त १० वर्षअघि एक लाख ४० हजार प्रतिमन खरिद, बिक्री भएको अलैँचीको मूल्य त्यसयता ओरालो लागेको थियो । गएको बैशाख, जेठ महिनामा पहाडी जिल्लामा पानी नपर्दा यस वर्ष अलैँची उत्पादनमा गिरावट आएको छ ।
यो अलैँची उत्पादनको सिजन हो । पहाडी क्षेत्रमा यसको उत्पादन भइरहेको छ । किसानलाई अलैँची टिप्ने, छोडाउने र सुकाउने चटारो छ, यतिबेला ।
पूर्वी पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य श्रोत तथा नगदेबालीका रूपमा रहेको अलैंची भदौ अन्तिमदेखी असोज र कात्तिक पहिलो हप्तासम्म टिप्न सकिन्छ । चाडपर्वमा खर्च गर्न र वर्षभर चामल खान पुग्ने किसानहरू बताउँछन् ।
एक लाख भन्दा माथिको मूल्यमा अलैँची बिक्री गरेका किसानलाई एक लाख भन्दा कम मूल्यमा आँखा नगएका कारण पनि धरै किसानले अलैँचीबाट निराशा उत्पन्न भएको छ ।
इलामको तल्लो क्षेत्र रहेको रोङ गाउँपालिका, सूर्योदय नगरपालिका र इलाम नगरपालिका, देउमाई नगरपालिकाको खोला किनार क्षेत्रमा रहेको बगानमा किसानले अलैँची असोज महिनाभित्रै टिपिसक्ने गरेका छन् । सन्दकपुर लगायत अन्य पालिकाकैसमेत माथिल्लो क्षेत्रका किसानले मंसिरसम्ममा नै अलैँची टिप्ने र सुकाउने गर्दछन् ।
सुकाएको तयारी अलैँची मंसिर र पुस महिनामा एकथरी किसानले प्रायः बिक्री गरिसक्छन् । घरमा भएको अलैँची बिक्री गरिसकेपछि गएको वर्ष मूल्य बढ्ने गरेको किसान मात्रिका खतिवडाले बताए । उनले गएको वर्ष आफूसँग भएको अलैँची बेचिसकेपछि आएको मूल्यले अलैँची लगाउने जोश आएको बताए ।
उच्च मूल्य हुँदा अलैँचीलाई खोल्साको कालो सुनको उपनामसमेत दिइने गरिएको छ । तीन वर्ष अघि करिब ३० हजार प्रति मन बिक्री भएको अलैँची गएको वर्ष प्रतिमन ४५ बजार सम्मले बिक्री भएको थियो ।
यस वर्ष ८० हजारभन्दा माथि मूल्यमा बिक्री भइरहेको इलाम उद्योग वाणिज्य संघ इलामका अध्यक्ष कृष्ण पौडेलले बताए । उनले किसानसँग भएको अलैँची बजारसम्म आउन थालेको बताए ।
एकातिर विभिन्न रोगले अलैँची मासिने र अर्कातिर भाउ घट्दै गएपछि अलैँचीको विकल्प खोज्न थालेका थिए । तर, दाम बढ्न थालेपछि किसानमा उत्साह पलाएको छ ।
भारतको बाटो भएर विदेश निर्यात हुने अलैँचीले देशको अर्थतन्त्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । तर, सरकारी क्षेत्रबाट मासिँदै गरेको अलैँची ब्यूताउँन खास किसानसमक्ष कार्यक्रम नै नल्याएको किसानहरूको गुनासो छ ।
Discussion about this post