किशोर पोख्रेल
भारत र न्यूजील्यान्डको क्रिकेट सम्बन्धले क्रिकेट प्रेमीहरूको मनमा गहिरो छाप छोड्दै आएको छ । यी दुई देशबिचको खेल सधैँ एक असाधारण प्रतिद्वन्द्वितामा परिणत भएको छ, विशेषगरी विश्वकपका महत्त्वपूर्ण खेलहरूमा ।
जब भारतले विश्वकप वा कुनै ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो बलियो खेल देखाउँदै आउँछ, दाबेदारी प्रस्तुत गर्छ, न्यूजील्यान्डले बारम्बार त्यो सपना तोड्ने काम गरेको छ । चाहे २०१९ को एकदिवसीय विश्वकप होस्, २०२१ को टी-२० विश्वकप वा टेस्ट च्याम्पियनसिप, न्यूजील्यान्डको टिमले निर्णायक मञ्चमा भारतलाई हराउँदै आएको छ ।
यसबाहेक, महिला क्रिकेटमा पनि न्यूजील्यान्डको टिमले भारतलाई धेरै पटक चुनौती दिँदै आएको छ । यी सबै तथ्यहरूले गर्दा न्यूजील्यान्डलाई भारतको बाधकको रूपमा हेरिएको छ ।
टी-२० विश्वकप २०१६ स् आफ्नै जालमा फस्यो भारत:-
टी-२० विश्वकप २०१६ को सुपर-१० को आफ्नो पहिलो खेलमा भारत न्यूजील्यान्डसँग ४७ रनले पराजित भएको थियो । विश्वकपको दाबेदार मानिएको आयोजक भारतले अप्रत्याशित हार बेहोर्दा एक पटक क्रिकेट दुनियाँ नै चकित परेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको न्यूजील्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै जम्मा १२६ रन बनाएको थियो । मध्यम लक्ष्य पाएको भारत खेल जित्नेमा ढुक्क थियो । समर्थकहरूमा पनि खुसी छाएको थियो । तर, त्यो खुसी धेरै बेर टिक्न सकेन ।
जवाफी ब्याटिङ गरेको भारतले १८.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ७९ रन बनायो । न्यूजील्यान्डका तीन सपीनर मिचेल सान्टनर, ईश सोधी र न्याथन म्याकुलमले भारतीय पारी ध्वस्त पारिदिए ।
भारतको लागि महेन्द्रसिंह धोनीले ३०, विराट कोहलीले २३ र रविचन्द्रन आश्विनले १० रन बनाउन बाहेक अरू ब्याटरहरु कसैले पनि ५ रन कटाउन सकेनन् । आफ्नो मुख्य शक्ति स्पिनर रहेको भारतले नागपुरको पिचमा न्यूजील्यान्डको स्पिनर सामु घुँडा टेक्नु परेको थियो ।
सुपर-१० को आफ्नो अन्तिम खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारत सेमिफाइनल प्रवेश त गर्यो तर सेमिफाइनलमा त्यस संस्करणको विश्व विजेता वेस्ट इन्डिजसँग ७ विकेटको हार बेहोर्दै भारत पुनः एक पटक उपाधिको नजिक पुगेर बाहिरियो ।
एकदिवसीय विश्वकप २०१९स् म्यानचेस्टरमा भारत निराश:-
२०१९ को आइसिसी एकदिवसीय विश्वकपमा भारतले आफ्नो यात्रालाई शानदार तरिकाले अघि बढाइरहेको थियो । लीग चरणमा भारतले एकपछि अर्को सफलता हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । म्यानचेस्टरको ओल्ड ट्राफर्डमा भएको यो खेल दुई दिनसम्म चलेको थियो, जसले भारतका क्रिकेट प्रेमीहरूलाई निराश पार्यो ।
पहिले ब्याटिङ गरेको न्यूजील्यान्डले निकै संयमित प्रदर्शन गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २३९ रन बनायो । ओपनर मार्टिन गुप्टिलको छिट्टै विकेट पतन भए पनि कप्तान केन विलियमसन र रोस टेलरले इनिङ्सलाई सम्हाल्दै महत्त्वपूर्ण साझेदारी गरे।
विलियमसनले ६७ रन बनाए भने टेलरले ७४ रनको उत्कृष्ट योगदान दिए। भारतका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए भने जसप्रित बुमराह, युजभेन्द्र चाहल, हार्दिक पाण्ड्या र रवीन्द्र जडेजाले १/१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको भारतको प्रारम्भ नै खराब रह्यो । ट्रेन्ट बोल्ट र म्याट हेनरीको घातक बलिङले भारतलाई दबाबमा राख्दै सुरुवाती ५ रनमै रोहित शर्मा, विराट कोहली र केएल राहुललाई पवेलियन फर्कायो । यो तीन जना ब्याट्सम्यानले मात्र १/१ रन बनाउन सके। मिडल-अर्डरका खेलाडीहरू पनि असफल भए। रवीन्द्र जडेजा (७७ रन) र महेन्द्र सिंह धोनी (५० रन) ले पारीलाई केही हदसम्म पुनर्स्थापना गरे ।
यी दुईको प्रयासले भारतलाई जितको नजिक पुर्यायो तर मार्टिन गुप्तिलको सानदार फिल्डिङमा धोनीको रन आउटले भारतको सबै आशा समाप्त गर्यो। अन्ततः भारत २२१ रनमा समेटियो र न्यूजील्यान्डले १८ रनले खेल जित्यो ।
यो हारले भारतलाई सेमिफाइनलबाट बाहिर पुर्यायो र न्यूजील्यान्डले फाइनलमा स्थान बनायो। यो पराजय भारतीय क्रिकेट समर्थकहरूको लागि निकै गहिरो क्षति थियो जसले गर्दा भारतलाई प्रमुख खेलहरूमा न्यूजील्यान्डको बाधकको रूपमा हेर्न थालियो ।
टी-२० विश्वकप २०२१: भारतको पुन तगारो न्यूजील्यान्ड:-
टी-२० विश्वकप २०२१ मा पनि भारत र न्यूजील्यान्डको भिडन्त भारतीय समर्थकहरूको लागि निराशाजनक रह्यो । भारतले समूह चरणमा न्यूजील्यान्डसँग खेल्दा कुनै पनि महत्त्वपूर्ण प्रगति गर्न सकेन । यो खेल दुबईको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको थियो ।
पहिले ब्याटिङ गरेको भारतले निकै खराब प्रदर्शन गर्यो । २० ओभरमा ७ विकेट गुमाएर मात्र ११० रन बनाउन सकेको भारतको इनिङ्सलाई न्यूजील्यान्डका बलरहरूले पूर्ण नियन्त्रणमा राखेका थिए ।
टिम साउदी र ट्रेन्ट बोल्टको बलिङले भारतीय ब्याटहरूलाई दबाबमा पार्दै लगातार विकेट लिए । ईश सोधी र मिचेल स्यान्टनरले पनि भारतलाई धेरै रन बनाउन दिएनन् । रवीन्द्र जडेजाले अन्त्यमा केही रन जोडे पनि भारतको कुल स्कोर कम नै रह्यो ।
न्यूजील्यान्डले यो सानो लक्ष्य सजिलै हासिल गर्यो। डेरिल मिचेल र केन विलियमसनको संयमित ब्याटिङले १४.३ ओभरमै न्यूजील्यान्डलाई ८ विकेटले जित दिलायो ।
डेरिल मिचेलले ३५ बलमा ४९ रन बनाएका थिए भने कप्तान केन विलियमसनले ३१ बलमा अविजित ३३ रनको इनिङ्स खेल्दै खेल समाप्त गरे। यस पराजयसँगै भारत समूह चरणबाट नै बाहिरियो । यो हारले टी-२० विश्वकपमा भारतलाई थप दबाबमा राख्यो र न्यूजील्यान्डले पुनः एक पटक भारतलाई ठुला प्रतियोगिताबाट बाहिर निकाल्न सफल भयो ।
वर्ल्ड टेस्ट च्याम्पियनसिप २०२१ : न्यूजील्यान्डको ऐतिहासिक उपाधि:-
२०२१ को वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल पनि भारत र न्यूजील्यान्डबीच भएको थियो । यो खेल टेस्ट क्रिकेटको पहिलो च्याम्पियनसिप उपाधिको निर्णायक खेल भएकोले निकै महत्त्वपूर्ण थियो । यस खेलमा पनि न्यूजील्यान्डले पुनः एक पटक भारतलाई पाखा लगायो ।
भारतको पहिलो इनिङ
टस हारेर पहिले ब्याटिङ गरेको भारतले २१७ रन मात्र बनाउन सक्यो । अजिंक्य रहाणेले सर्वाधिक ४९ रन बनाए भने विराट कोहलीले ४४ रन बनाए । भारतको मिडिल-अर्डर र टेल-एन्डरले राम्रो प्रदर्शन गर्न नसक्दा भारतको स्कोर औसत रह्यो। न्यूजील्यान्डका बलर काइल जेमिसनले ५ विकेट लिएर भारतको ब्याटिङ लाइनअपलाई ध्वस्त पारे ।
न्यूजील्यान्डको पहिलो इनिङ:-
जवाफमा न्यूजील्यान्डले पहिलो इनिङ्समा २४९ रन बनायो । डेभन कन्भेले ५४ रन बनाए भने केन विलियमसनले ४९ रन बनाउँदै महत्त्वपूर्ण योगदान दिए । मोहम्मद शमीले ४ र इशान्त शर्माले ३ विकेट लिए पनि अन्तिममा टिम साउथीले ३० रन जोडे पछि न्यूजील्यान्डले भारतलाई दबाबमा राख्दै सानो तर महत्त्वपूर्ण अग्रता लियो ।
भारतको दोस्रो इनिङ
भारतको दोस्रो इनिङ्स पनि अपेक्षाकृत कमजोर रह्यो। भारतले १७० रन मात्र बनाउन सक्यो । ऋषभ पन्तले ४१ र रोहित शर्माले ३० रन बनाउनबाहेक अन्य खेलाडीले ठुलो योगदान दिन सकेनन् । टिम साउथीले ४ र ट्रेन्ट बोल्टले ३ विकेट लिँदा पुनः एक पटक काइल जेमिसनले २ विकेट लिए ।
न्यूजील्यान्डको दोस्रो इनिङ
१३९ रनको लक्ष्य पछ्याएको न्यूजील्यान्डले सजिलै खेल आफ्नो पक्षमा लियो । कप्तान केन विलियमसनले अविजित ५२ रन बनाउँदै रोस टेलरसँग ९६ रनको साझेदारी गरे । टेलरले ४७ रन बनाएर नकआउट रहे। यससँगै न्यूजील्यान्डले ८ विकेटले जित हासिल गर्यो र टेस्ट क्रिकेटको पहिलो विश्व च्याम्पियनको उपाधि जित्यो ।
महिला क्रिकेटमा पनि चुनौती:-
पुरुष क्रिकेटजस्तै महिला क्रिकेटमा पनि न्यूजील्यान्डले भारतलाई विभिन्न प्रतियोगितामा चुनौती दिँदै आएको छ । महिला क्रिकेटमा पनि यी दुई देशबिचका खेलहरू रोमाञ्चक रहेका छन् ।
महिला टी-२० विश्वकप २०१८ : भारतको जित
महिला टी-२० विश्वकप २०१८ मा भारतले न्यूजील्यान्डलाई समूह चरणमा ३४ रनले पराजित गर्दै आफ्नो प्रभुत्व देखाएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले कप्तान हर्मनप्रीत कौरको सानदार शतकको मद्दतमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।
जवाफी ब्याटिङ गरेको न्यूजील्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६० रन मात्र बनायो । यसरी भारतले उक्त खेल ३४ रनले जितेको थियो ।
महिला एकदिवसीय विश्वकप २०२२ : उही पुरानै नतिजा:-
२०२२ को महिला एकदिवसीय विश्वकपमा भारतले न्यूजील्यान्डसँग प्रतिस्पर्धा गर्दा कठिनाइ भोग्नुपर्यो । भारतले ६२ रनले हार बेहोरेको थियो । यो खेलले न्यूजील्यान्डको बलियो प्रदर्शनलाई पुनः प्रमाणित गर्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको न्यूजील्यान्डले अमिलिया कर र अमी सेटरवेटको अर्धशतकीय पारीमा निर्धारित ५० ओभरमा २६० रन बनाएको थियो । भारतको लागि पूजा भास्त्रकारले ४ विकेट लिए पनि न्यूजील्यान्डले बलियो योगफल भने तयार पार्यो ।
जवाफी ब्याटिङ गरेको भारतले ४६.४ ओभरमा आफ्नो सम्पूर्ण विकेट गुमाउँदै १९८ रन मात्र जोड्न सक्यो । हर्मनप्रीत कौरले ६३ बलमा ७१ रनको विस्फोटक पारी खेले पनि अरू ब्याटरहरु नचल्दा भारत कमजोर स्कोरमा पुन खुम्चियो ।
महिला टी-२० विश्वकप २०२४ स् पुन निरीह साबित भारत:-
महिला टी-२० विश्वकप २०२४ को समूह चरणको खेलमा भारत न्यूजील्यान्डसामु पुनः निरीह साबित भएको छ । दुवै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा भारतलाई न्यूजील्यान्डले ५८ रनले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको न्यूजील्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६० रन बनाएको थियो । कप्तान सोफी डेभनले विस्फोटक अर्धशतक प्रहार गर्दै न्यूजील्यान्डलाई बलियो स्थितिमा पुराएकी थिइन् ।
जवाफी ब्याटिङ गरेको भारतले १९ ओभरमा आफ्नो सम्पूर्ण विकेट गुमाउँदै मात्र १०२ रन बनायो । भारतको लागि कप्तान हर्मनप्रीत कौरले सबैभन्दा बढी १५ रन बनाइन् । अरू ब्याटरहरुले भने सम्झन लायक प्रदर्शन गरेनन् । न्यूजील्यान्डकी रोजमेरी मैरले ४ विकेट लिँदै भारतीय पारीलाई ध्वस्त पारेकी थिइन् ।
हिजो भएको साबिक विजेता अष्ट्रेलियाबिरुद्धको खेलमा पनि भारत ९ रनले पराजित भएको छ । यो हारसँगै भारतको विश्वकपको अगाडिको यात्रा सङ्कटमा परेको छ । पोइन्ट्स टेबलको दोस्रो स्थानमा रहेता पनि भारत बाहिरिने ठुलो डरमा रहेको छ ।
आज हुने न्यूजील्यान्ड र पाकिस्तानबिचको खेलले भारतको यो विश्वकपको अगाडिको यात्रा तय गर्नेछ । न्यूजील्यान्डले खेल जिते भारत स्वतः बाहिरिनेछ भने पाकिस्तानले झिनो अन्तरले न्यूजील्यान्डलाई पराजित गरे भारत सेमिफाइनलमा प्रवेश गर्नेछ । त्यसैले, भारतको अबको अगाडिको यात्रा आजको पाकिस्तानको जितमा निर्भर रहनेछ ।
समूह चरणको आफ्नो पहिलो खेलमा न्यूजील्यान्डबिरुद्ध बेहोरेको ५८ रनको हार भारतको लागि अहिले आएर फलामको चिउरा सरह भएको छ । त्यो खेल जितेको भए भारतको सेमिफाइनल यात्रा लगभग पक्कापक्की जस्तै हुने थियो । भारतको करोडौँ क्रिकेट समर्थक आज पाकिस्तानको झिनो जीतको आसमा रहनेछन् । न्यूजील्यान्डले पुनः एक पटक भारतको बाटोमा काँडेतार लगाइदिएको छ ।
भारत र न्यूजील्यान्डको क्रिकेट सम्बन्धमा, विशेषगरी ठुला प्रतियोगिताहरूमा, न्यूजील्यान्डले सधैँ भारतलाई ठुलो चुनौती दिएको छ । यी खेलहरूमा भारतको लगातार हारले क्रिकेट प्रेमीहरूलाई निराश बनाएको छ ।
(लेखक सिन्धुली एकेडेमीका विज्ञान शिक्षक हुन् ।)
Discussion about this post