काठमाडौँ : दक्षिण एसिया र चीनका गरी ४५० तीर्थस्थल एक वर्षभित्र भ्रमण-दर्शन गरेका नेपालका शान्तिमैत्री अभियानकर्मी प्रदीप खनाललाई भारतमा सम्मानसहित अभिनन्दन गरिएको छ।
खनाललाई डा एपिजे अब्दुल कलाम फाउन्डेसनले अक्टोबर १५ मा ‘डा। एपिजे अब्दुल कलाम इन्टरनेसनल अवार्ड २०२४’ ले सम्मान तथा अभिनन्दन गरेको हो।
उक्त सम्मान खनाललाई मेघालयका सभाध्यक्ष थोमस् ए साङ्माले हस्तान्तरण गरेका थिए। सो क्रममा मेघालय सरकारका मन्त्री अरुप रोए र जनाब जावेद अहमद खानसम्त उपस्थित थिए।
‘तीर्थाटन पर्यटन’मा कीर्तिमान राखेबापत अन्तर्राष्ट्रिय मैत्री समाज नेपालका अध्यक्ष खनाललाई अभिनन्दन गरिएको थियो।
गत असोज १६/१७ गते ‘इन्टरनेसनल कन्भोकेसन-२०२४’ द्वारा खनाललाई भारतमा ट्रफी र सम्मान पत्र प्रदान गरिएको थियो।
भारतका पूर्वसङ्घीयमन्त्री अश्विनी चौबेले नेपाल, भारत, भियतनामलगायत एसियाका विभिन्न विधाका १५ कीर्तिमानीका साथ खनाललाई सो सम्मान गरेका थिए। सोही अवसरमा ‘इन्डिया बुक अफ रिकर्डस’ ले पनि ‘बुद्ध इन्टरनेसनल ट्रस्ट’ बेलायतका दुई संस्थापकमध्येका एक खनाललाई भारतलगायत एसिया आदिका सय कीर्तिमानीसँगै ‘हन्ड्रेड टप रिकर्डस अफ द एयर’ सम्मान दिएको थियो।
डा एपिजे अब्दुल कलाम फाउन्डेसनका कोलताकाका अन्तर्राष्ट्रिय सल्लाहकार खनालले वि।सं। २०८० असारदेखि २०८१ असारसम्म गरी भारत, महाराष्ट्र, सिरडीकी विनिता लेप्चा र मध्य प्रदेश, इन्दौरका मङ्गेश भागवतका साथ नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र तिब्बत, चीनका चार धाम, चार आदिशक्ति पीठ, १८ महाशक्ति पीठ, ५२ शक्ति पीठ १०८ सिद्ध पीठ, सप्तपुरी, शिखधर्मका ११ गुरुद्वारा र बौद्ध धर्मका १३ तीर्थस्थल भ्रमण, दर्शन, पूजापाठ गरेका थिए।
साथै उनले तिब्बतको कैलाश मानसरोवरदेखि भारतका तामिलनाडुका तीन सागरको सङ्गमस्थल कन्याकुमारी, अरुण चलको परशुराम कुण्ड तथा पाकिस्तान, बलुचिस्तानस्थित हिङ्गलाज माता मन्दिरको अनिल कुण्डलगायत २३ कुण्ड, तलाउ, नदी र नदीका मुहानमा डुबुल्की पनि लगाएका थिए।
भारतका पूर्व मन्त्री चौबेले करिब ५०० तीर्थस्थलको दर्शन गर्ने खनाललगायतलाई सम्मान गर्न पाएकामा आफू गौरवान्वित भएको बताए। ‘मैले आफूले कुनै कीर्तिमान राख्नका लागि नभई विश्व शान्ति, मैत्री र सद्भाव कायम होस् भन्ने पवित्र कामना गरी यो भ्रमण गरेको हुँ, काम गर्दै जाँदा कीर्तिमान आफैँ कायम हुँदै जाँदो रहेछ, यो सम्मान सबै शान्तिकामी नेपालीको पनि हो,’ काठमाडौँ कलङ्कीका खनालले भने।
आफ्नो सफल तीर्थाटनपछि तीर्थयात्री खनालले नेपालका सभामुख, पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश, पशुपतिनाथ मन्दिरका मूल भट्ट, विभिन्न दलका नेता, पूर्व मन्त्री, सञ्चारकर्मी तथा भारतका पूर्व प्रधानमन्त्री एचडी देवे गौडा, गोवर्द्धन पीठका जगद्गुरु शङ्कराचार्य अध्योक्षा नन्द लगायतलाई भेटी जलप्रसाद वितरण गरिसकेका छन्।
खनाललाई यसअघि बैंग्लोर कर्नाटकमा जगतगुरु अनन्त श्री विश्व केन्नाचार्यले अभिनन्दन गरेका थिए। खनाललाई मैसुर विश्वविद्यालयका उपकुलपति एनके लोकनाथले पनि अभिनन्दन गरिसकेका छन्।
प्रसिद्ध सनातनी धर्मका गुरुहरूले शङ्कराचार्य र नानक देवपछि तेस्रो व्यक्ति भन्दै खनालको प्रशंसा गरिरहेका छन्। उनीहरूले खनालले शङ्कराचार्य र नानक देवको इतिहास ‘ब्रेक’ गरेको बताएका छन्।
भारतका प्रसिद्ध जगतगुरु स्वामी ऋषिपाल आनन्दले भनेका छन्, ‘खनालले सयौँ वर्षपछि विश्वमा आजसम्म कसैले नगरेको तीर्थयात्रा एकै वर्षमा पूरा गरेका छन्।’
भारतकै कल्की अवतार भगवानले त्यसमा थपेका छन्, ‘शङ्कराचार्य र नानक देवपछि नेपालका प्रदीप खनालले यतिका तीर्थस्थलको भ्रमण पूरा गरेका छन्। यो इतिहासमै दुर्लभ घटना हो।’
खनालको भ्रमणबारे सिलिगुडीका धर्मगुरु आचार्य मुक्तिनाथ अधिकारीले भनेका छन्, ‘सायद, यतिको भ्रमण दुई तीन महापुरुषले मात्र गरेका छन्, त्योमध्ये खनाल एक हुन्, इतिहासले तपाईँलाई त्यही दाँजोमा राख्नेछ।’
श्रीलङ्काका हिन्दुवादी धार्मिक अभियन्ता बालाजीले खनालको भ्रमणबारे भनेका छन्, ‘असम्भव भन्ने केही छैन, यो कठिन यात्रा इतिहासमा दर्ज हुने छ, आगामी पुस्ताको लागि अध्ययन अनुसन्धानको सोच बन्छ, तपाईँको भ्रमणले प्रेरित गर्ने छ।’
यस्तै, दिल्लीका सामाजिक कार्यकर्ता चमन शर्माले खनालले ‘आजसम्मको सनातन धर्म इतिहासमा कसैले पनि गर्न नसकेको काम’ भनेका छन्।
Discussion about this post