विराटनगर : मोरङ प्रहरी प्रमुखका रूपमा एसपी नारायण चिमरियालाई हाजिर भएका छन् । उनी सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङ हाजिर भएका हुन् ।
जिल्लामा हाजिर हुनासाथ विभिन्न युनिटका इन्चार्जहरूलाई बोलाएर निर्देशन दिएका छन् । नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीमा कार्यरत चिमरियालाई काजमा मोरङ खटाइएको हो ।
नेपाली कांग्रेसका नेताको ‘भिटो पावर’ लगाएर उनी मोरङ आउन सफल भएको स्रोतको भनाइ छ ।
यसअघिका मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीलाई प्रहरी प्रधान कार्यालय झिकाएर उनका ठाउँमा एसपी राजन लिम्बूलाई पठाउने निर्णय भएको थियो । तर, मोरङ हाजिर हुन नपाउँदै लिम्बूको काज रद्ध गरियो । लिम्बूको काज रद्ध गरेर चिमरियालाई पठाइएको हो ।
प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले प्राविधिक कारणले लिम्बूलाई रोकेर चिमरियालाई पठाइएको बताए । अफिसको आवश्यकताका कारण लिम्बूलाई मोरङ पठाउन नसकिएको उनको भनाइ छ ।
स्रोतका अनुसार कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकु्वेर खापुङले एसपी लिम्बूलाई मोरङ ल्याउन कसरत गरिरहेका थिए । तर, ३ दिनमै काज रद्ध भयो । लिम्बूको काज रद्ध हुनुको पछाडि २ वटा कारण महत्वपूर्ण मानिन्छ ।
डीएसपी हुँदा उनी प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पीएसओ (अंगरक्षक) थिए । ओली अहिले प्रधानमन्त्री रहेकै मौका छोपेर मोरङ आइहाल्न खोजेका थिए । तर, चिमरिया बाधक बनिदिए ।
ओलीले पठाएका एसपीले एमालेबाहेकको कुरा नमान्ने बुझाइ कांग्रेसको थियो । कांग्रेसका नेताहरूले लिम्बूलाई मोरङ पठाउन नहुने भनेर गृहमन्त्री रमेश लेखकलाई दबाब दिएका थिए । नभन्दै राजनीतिक हस्तक्षेपसामु प्रहरी प्रधान कार्यालय निरीह बन्यो । कांग्रेस नेता गृहमन्त्री लेखकलाई भनेर लिम्बूको सरुवा रोक्न सफल भए ।
लिम्बूको मोरङ यात्रामा ‘ब्रेक’ लाग्नुको पछाडि प्रधानमन्त्री ओलीसँगको निकटता र कोशी प्रदेशका मन्त्री खगेनसिंह हाङगाम हाङगामसँगको लफडा प्रमुख कारण रहेको प्रहरी उच्च स्रोतले बतायो ।
स्रोतका अनुसार कांग्रेस नेताले लिम्बूलाई रोकेर गृहमन्त्रीमार्फत चिमरियाको नाम प्रस्ताव गरेपछि प्रहरी प्रधान कार्यालयले त्यसैमा समर्थन जनाएर निर्णय लिएको हो ।
Discussion about this post