इटहरी : गाउँघर धुम्म छ । दिन उघ्रिएको छैन । दिन मात्रै होइन, घरपरिवारदेखि छरछिमेकीको मनसमेत अध्याँरिएको छ । यसरी अध्याँरोमा बस्नुपर्दा विक्षिप्त छन्, इटहरी २ सुकुम्बासी टोलका स्थानीय बासिन्दा ।
सुकुम्बासी टोलका बालकुमार सापकोटाको निधन भएको १२ औँ दिन भयो । दसैँको टीकाको पर्सिपल्ट, अर्थात् द्वादशीको दिन मलेसियास्थित पहान जिल्लाको कोन्ताङ भन्ने सहरमा सापकोटाको निधन भयो । निधन भएको नौ दिनमा उनको शव नेपाल ल्याएर सद्गद गरिसकिएको छ ।
उनको काजकिरियामा अहिले उनका माइला भाइ भूमिप्रसाद र नौ वर्षीय छोरा सुमित बसेका छन् ।
घरको जेठो छोरो रहेका बालकुमार पहिलोपटक डेढ वर्षअघि मलेसिया गएका थिए । उनी यसअघि नेपालमै मजदुरी काम गर्दै आएपनि छोराहरू पढलेख गराउन र घर खर्च धान्नका लागि विदेशिए पनि उनको सपना उतै अस्तायो । सपनासँगै आफू पनि सधैँका लागि अस्ताए ।
अहिले उनका परिवार काजकिरियामा छन् । आर्थिक अवस्था दयनीय रहेको उक्त परिवार अहिले भावविह्वल अवस्थामा रहेको छ । मृतक बालकुमारका कान्छा भाइ लक्ष्मीप्रसाद सापकोटाका अनुसार हृदयघात र प्रेसरका कारण उनको निधन भएको हो ।
‘राति सहजै सुतेको र बिहान ७ बजेतिर ड्युटी जाऔँ भनेर साथीहरूले भन्दा मलाई सञ्चो छैन भनेको जानकारी आएको छ,’ बालकुमारका साथीहरूको भनाइ उदृत गर्दै उनले भने, ‘११ बजेतिर खान खान आएको समयमा हेर्दा नाकबाट खुन आइरहेको रहेछ । पछि अस्पताल पु¥याउँदा मृत्यु भइसकेको थियो । पोस्टमार्टम रिपोर्टमा हर्टअट्याक र प्रेसरको कारण भन्ने खुल्यो ।’
अस्पतालको पोस्टमार्टम रिपोर्टअनुसार हृदयघात र प्रेसरका कारण उनको निधन भएको उनले जनाए ।
निधन भएको नौ दिनको दिन मृतकका जेठान उमेश खड्काले शव नेपाल ल्याए । ‘जेठान र ज्वाइँ एकैठाउँ हुनुहुन्थ्यो । एक फर्निचर कम्पनीमा काम गर्नुपथ्र्यो । त्यसबेला जेठान दाइ काममा जानुभएको र हाम्रो दाइ चैँ कोठामै सुत्नुभएको रहेछ,’ लक्ष्मीप्रसादले भने ।
खासगरी लक्ष्मीप्रसाद दसैँ, तिहार तथा विभिन्न चाडबाड मान्नका लागि केही साताअघि मात्रै नेपाल आएका थिए । चाडबाड मान्न आएकै समयमा आफ्नै जेठा दाइको निधनले विक्षिप्त भएको उनले सुनाए ।
‘म साउदीमा बस्थेँ । डेढ महिनाको छुट्टीमा चाडबाड मान्न घर आएको बेला दाइको निधन भएको खबर आयो, उनले भने ।
मृतक बालकुमारका नौ वर्षीय छोरा सुमित र ६ वर्षीय छोरा सुशान्तसहित श्रीमती सुनीता खड्का (सापकोटा) विराटनगर बस्दै आएकी थिइन् । विराटनगरकै एक निजी विद्यालयमा छोराहरू पढाइरहेकी सुनीता श्रीमानको निधन भएपछि आफूलाई सम्हाल्न सकिरहेकी छैनन् ।
२०७० सालको असारमा बालकुमारसँग विवाह गरेकी सुनीताको काँधमा अब छोराहरूलाई पढलेख गराउने जिम्मेवारी आइपरेको छ । उहाँ हुँदा त पैसा महिनावारी पठाउनुहुन्थ्यो र घर खर्च टरेको थियो अब कसरी टार्ने र कसको मुख हेरेर बाच्ने श्रीमानको काममा बसेकी सुनिताले भाव हुँदै भनिन ।
बालकुमारको निधन भएसँगै वैदेशिक रोजगार बोर्डको सचिवालय र बीमाबाट राहत रकम लिने प्रक्रियासमेत थाहा नभएको पीडित परिवारले जनाएको छ ।
मृतकका जेठान उमेशका अनुसार काठमाडौँस्थित गौशालामा रहेको ट्यालेन्ट म्यानपावरमा दुई लाख ५६ हजार रकम बुझाएर सापकोटा विदेशिएका थिए । मलेसियास्थित एक फर्निचर कम्पनीमा काठ जोड्ने अर्थात् फिङ्गर जोनको काम गर्दै आएका उनी मासिक करिब ५० हजार रुपैयाँ कमाई गर्थे ।
‘दुःख गरेर ५० हजारसम्म कमाई हुन्थ्यो । भान्जाभान्जी पढलेख गराउन र परिवारको सपना बोकेर विदेशिएका ज्वाइँको निधन भएपछि हामी पनि विक्षिप्त भएका छौँ,’ उमेशले भने ।
विदेशमा गएर दुःख गरी केही समय भएपनि जीवीकोपार्जन गर्ने सपना देखेका बालकुमारको अचानक निधन भएपछि अब उक्त परिवारको भविष्यबारे शुभेच्छुकहरू चिन्तित बनेका छन् ।
Discussion about this post