चितवन : बागमती प्रदेशमा पर्ने उपत्यकाका तीन जिल्लाबाहेकका जिल्लामा चाडपर्वका समयमा सवारी दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ ।
काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका जिल्लामा दसैँको घटस्थापना अर्थात् असोज १७ गतेदेखि कात्तिक २० गते बिहानसम्म दुई सय ३० दुर्घटना भएकामा २४ जनाको मृत्यु भएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ती दुर्घटनामा परी छ सय २८ जना घाइते भएका छन् ।
दसैँको घटस्थापनादेखि असोज मसान्तसम्म प्रदेशका १० जिल्लामा एक सय १६ वटा दुर्घटना भएका थिए । ती दुर्घटनामा परी १५ जनाको मृत्यु भएको थियो भने चार सय १६ जना घाइते भएका थिए ।
यस्तै, कात्तिक १ गतेदेखि २० गते बिहानसम्ममा एक सय १४ वटा दुर्घटना भएका र ती दुर्घटनामा नौ जनाको मृत्यु हुनुका साथै दुई सय १२ जना घाइते भएका छन् ।
चाडपर्वको समयमा वर्षा हुँदा ग्रामीण क्षेत्रका सडकमा समस्या हुने गरेकाले दुर्घटना बढेको हो ।
प्रहरी उपरीक्षक सुवेदीले भने, “सडकको कमजोर अवस्थामा जोखिम मोलेर सवारी चलाउने परिपाटीले गर्दा दुर्घटना बढेको हो । ट्राफिक नियमको पालनामा चालक र यात्रु सचेत नहुँदा पनि दुर्घटना हुने गरेका छन् ।”
दुर्घटना न्यूनीकरणका लागि हरेक हाल कार्यालयले सवारी चालकलाई प्रतिबद्धता, हरेक जिल्लामा नियमित तथा आकास्मिक जाँचलगायत गतिविधिलाई तीव्र बनाइएको उनले जानकारी दिए ।
Discussion about this post