विराटनगर : जबरजस्ती करणी (बलात्कार) मुद्दाका दुई जना प्रतिवादीलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमध्ये एक जनालाई यसअघि नै ११ वर्ष कैद सजाय भएको छ भने अर्काको मुद्दालाई अदालतले मुलतबीमा राखेको थियो । दुवै जना लामो समयदेखि फरार थिए । दोषी ठहर भएका प्रतिवादी ८ वर्षपछि पक्राउ परेका हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले मोरङको सुन्दरहरैँचा नगरपालिका–५ लाटीझोडाका ३४ वर्षीय रामे तामाङ लामा भनिने कूलबहादुर तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार तामाङलाई जबरजस्ती करणी मुद्दामा अदालतले २०७३ साल असार २८ गते दोषी ठहर गरेको थियो ।
अदालतले दोषी ठहर गर्दै ११ वर्ष कैद सजायको फैसला गरे पनि उनी पक्राउ परेका थिएनन् । कैद सजाय भुक्तान नगरिकन लामो सयमदेखि फरार रहेका तामाङलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले पक्राउ गरेको हो ।
उनलाई प्रहरीले मंगलबार अदालतमा पेस गरेको छ । प्रहरीले बुझाएसँगै कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
त्यस्तै, सामूहिक बलात्कारको घटनापछि फरार रहेका मोरङको जहदा गाउँपालिका–५ का २७ वर्षीय मानु टुडूलाई पक्राउ गरिएको डीएसपी जोशीले बताए ।
टुडू २०७६ साल मंसिर २८ गतेदेखि फरार थिए । ५ वर्षदेखि फरार रहेका उनीविरुद्धको मुद्दालाई जिल्ला अदालत मोरङले मुलतबीमा राखेको थियो । प्रहरीले पक्राउ गरेर बुझाएका कारण अदालतले मुद्दा जगाएर थप प्रक्रिया अघि बढाउने सूचना अधिकारी बुढाथोकीले बताए ।
उनका अनुसार गोलामार्फत इजलासको टुंगो लगाएर बुधबार टुडूको बयान लिइने छ । बयानपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस हुने बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार बहस सकिएपछि टुडूलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी रकम लिएर वा साधारण तारेखमा छाड्ने मध्ये एउटा आदेश इजलासबाट आउने छ ।
Discussion about this post