विराटनगर : मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्षसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि अध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद रौनियारसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
पक्राउ पुर्जी जारी हुनेमा सहकारीका उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ, कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंह र सदस्यहरु जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुर छन् ।
त्यस्तै, सहकारीको लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव, सदस्यहरु सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।
कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले कारबाहीका लागि सिफारिस गरेकाविरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको हो ।
प्रहरी स्रोतका सहकारी ठगी प्रकरणमा जोडिएका नेकपा (एमाले)का नेता एवं संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाको नाम भने पक्राउ पुर्जीमा समावेश छैन ।
वर्तमान १० सञ्चालकविरूद्ध जिल्ला अदालत मोरङबाट सहकारीको बचत अपचलन मुद्दामा पक्राउ पुर्जी जारी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले पठाएको पत्रका आधारमा मुद्दा दर्ता गरेर पक्राउ पुर्जी लिइएको हो । प्रहरीले पक्राउ पुर्जी लिए पनि प्रहरी कार्यालयमा उजुरी गर्न सहकारीका बचतकर्ता तथा ऋणी पुगेका छैनन् । सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि सहकारीको कार्यालय बन्द छ ।
सञ्चालकलाई कार्यालय खोल्न आग्रह गर्दा असहयोग गरेपछि गत कात्तिक १४ गते सटरको ताला फुटाएर कागजात जफत गरिएको जोशीले बताए ।
अनुसन्धानका लागि सहकारी सञ्चालकले असहयोग गरेपछि बन्द रहेको कार्यालयबाट कागजात लगिएको उनको भनाइ छ । ‘यो घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यहाँ पत्राचार गरियो । समन्वय गर्नपनि खोजियो । तर, कोही सम्पर्कमा नआएपछि रीतपूर्वक प्रक्रिया मिलाएर खानतलासी गरिएको हो । इलाका प्रहरी कार्यालय रंगेलीमार्फत अनुसन्धान भइरहेको छ,’ उनले भने ।
सहकारीका सञ्चालक कार्यालय बन्द गरेर हिँडेपछि कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले उमागौरी कृषि सहकारीको विषय अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।
२०६८ सालमा स्थापना भएको यो सहकारीमा सांसद पोखरेलकी पत्नी दुई कार्यकाल सञ्चालक समितिमा रहेर काम गरेकी थिइन् । सहकारी संकटमा परेपछि कोइरालाले २०७८ माघ ५ गतेदेखि सहकारीबाट राजीनामा दिइन् ।
सहकारीबाट राजीनामा दिए पनि उनी सञ्चालक समितिमा रहँदा सहकारीले लिएको ऋण नतिरेका कारण आरएसडीसी लघुवित्त वित्तीय संस्थाले कोइरालासहितका सञ्चालकलाई कालो सूचीमा राखेको छ ।
उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार पोखरेलको पार्टीका कार्यकर्ता हुन् । सहकारी सञ्चालन गर्दा आफ्नो नाम राख्न नमिल्ने भएका कारण उलने पत्नीको राखेको उनीनिकट स्रोत बताउँछ ।
सहकारीका लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने वातावरण पोखरेलले नै मिलाएका थिए । उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ ।
सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ । १८ करोड ४९ लाख कुल पुँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।
जबरजस्ती ताला फोडेको अध्यक्षको आरोप
यता, सहकारीका अध्यक्ष रौनियारले भने जबरजस्ती आफ्नो सहकारीबाट ताला फुटाएर प्रहरीले कागजात लगेको बताए । उनले विज्ञप्ति जारी गर्दै बन्द रहेको अवस्थामा जबरजस्ती कागजात लगेको अरोप लगाएका हुन् ।
प्रहरीले स्थानीय जनप्रतिनिधि र प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका कर्मचारीको रोहबरमा ताला फोडेको थियो ।
‘कुनै किसानहरूबाट उजुर आपत्ति नगरी सञ्चालन भइरहेको अवस्थामा २०८१ साल कार्तिक १४ गते बुधबारका दिनदेखि दिपावली बिदा दिने निर्णय गरी बिदाको सूचना प्रकाशित भइरहेकोमा संस्थासँग आवद्ध कुनै व्यहोरिएको उजुर नै नगरी सोही दिन प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, इलाका प्रहरी कार्यालय रंगेलीद्वारा अनुगमन गरेको भनी संस्थाको ताला तोडी आक्रामक शैलीमा संस्थाभित्र प्रवेश गरी संस्थालाई थाहा जानकारी नै नदिइ भएका सम्पूर्ण सामानहरु बरामद गरी गाडीमा राखी लगिएको,’ अध्यक्ष रौनियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,‘संस्था अनुगमन गर्ने बहानामा संस्थाको ताला चुटाउँदा, भित्र प्रवेश गर्दा, समान बरामद गरी कब्जा गर्दासमेत संस्थाको अनुमति नलिएको र संस्थाको प्रतिनिधि नराखिएको, स्थानीय निकायका पदाधिकारी समेत रोहबरमा नराखिएको कार्यप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
Discussion about this post