इलाम : अलैँचीको मूल्य प्रतिमन करिब एक लाख पुगेको छ । यो मूल्य दस वर्ष यताकै उच्च हो ।
उच्च मुल्यमा विक्री भएकै कारण अलैँचीलाई ‘खोल्सीको कालो सुन’ उपनाम समेत दिएको छ । नगदे बालीमा बिदेसी पैसा सबै भन्दा बढी भित्र्याउने अलैँची नै हो । प्रतिमन लाख रुपैयाँ नजिक मूल्य पुगे पछि किसान उत्साहित छन् ।
विक्री गर्ने मुख्य सिजनमै राम्रो भाउ आएपछि इलाम, पाँचथर, ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लाका किसान उत्साही भएका हुन् ।
अहिले इलामका बजारमा अलैँचीको भाउ प्रतिमन (४० किलो) ९२ हजारदेखि ९८ हजार रुपैयाँसम्म रहेको इलाम उद्योग वाणिज्य सङ्घ अध्यक्ष तथा अलैँची व्यापारी रहेका चेतनाथ पौडेल (कृष्ण) ले बताए । उनका अनुसार पुच्छर काटेको ठुलो दानालाई गुणस्तरीय अलैँची मानिन्छ । यसको मूल्य उच्च रहेको छ ।
उनका अनुसार २०७९ सालमा प्रतिमन ३२ हजार रुपैयाँमा कारोबार भएको अलैँचीको अहिले भाउ ०८० सालमा ६० हजार थियो । १० वर्षअघि नै अलैँचीको मूल्य प्रतिमन लाख रुपैयाँ नाघेकामा केही वर्ष निकै घटेको थियो । अहिले फेरि भाउ आकासिएको हो ।
अहिले अलैँची निकासी गर्न पनि कुनै समस्या नभएको उनले बताए । अहिले भारत र तेस्रो मुलुकसम्म यहाँको अलैँची गइरहेको छ ।
बिब्ल्याँटे बजार जिल्लाको अलैँची व्यापार हुने मुख्य बजार हो । मङ्गलवारे, फिक्कल, मानेभञ्ज्याङ लगायत बजारबाट पनि अलैँची निकासी हुन्छ । इलाममा मात्रै बर्सेनि तीन अर्बभन्दा बढीको अलैँची कारोबार हुने व्यापारीको अनुमान छ ।
दशकअघि फलको भाउ उच्च हुँदा किसानले अरू सबैजसो बाली मासेर अलैँची लगाएका थिए । पुरानो अलैँची मासिएपनि नयाँ जातका अलैँची लगाएर किसानले बारी ढकाए । तर, भाउ घट्यो भने अलैंची समेत मासिँदै गयो । तर, फेरि भाउ उच्च भएपछि किसान अलैँची खेतीमा जाँगर चलाउँदै छन् ।
एक पटक रोपेपछि दशकौँसम्म फलिरहने स्थानीय जातको अलैँचीले केही वर्षअघि देशकै अर्थतन्त्रमा ठुलो हिस्सा ओगटेको थियो । तर, रोग–कीरा सङ्क्रमणले ९० प्रतिशतभन्दा बढी अलैँची सखाप भएपछि किसानको बगान करिब आधा दशक उजाड नै रहे । किसानले पुनः भारतबाट भित्रिएको नयाँ जातको अलैँची लगाए ।
जिल्लाको जिर्मले गाउँमा पहिलोपटक रोपिएको नयाँ अलैँचीले इलाम मात्र होइन, अन्य जिल्लासमेत पिट्यो । किसानले मकै बारी, तरकारी बारी सबै मासेर अलैँची लगाए । जिर्मलेमा यसको बिरुवा बढी पाइने भएकाले यसको नाम नै ‘जिर्मले’ राखियो । तर, जिर्मलेमा अलि बढी समय टिकिरहेको यही अलैँची अन्य स्थानमा चाहिँ भरपर्दो हुन सकेको छैन ।
सुरुमा अलैँची फस्टाएपछि किसानले अलैँची सहकारी नै गठन गरेका थिए । सहकारी गठन गरेपछि उनीहरूले विभिन्न निकायबाट प्राविधिक सहयोगसमेत लिएका थिए । माइमझुवा गाउँमा २०६८ असोजमा नेपालमै पहिलो पटक अलैँची सहकारी गठन भएको थियो ।
सहकारीले किसानका लागि नयाँ जातका अलैँची बिरुवा वितरण पनि गर्यो । अलैँची खेतीको प्राविधिक पक्ष हेरिरहेको फिक्कलस्थित अलैँची विकास केन्द्रका अनुसार हावापानी र उचाइ नमिलेकाले नयाँ जातको अलैँची मासिएको जनाएको छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार बर्सेनि सवा चार अर्ब रुपैयाँ बराबरको अलैँची निकासी हुन्छ । चालु वर्ष २०८१-०८२ को पहिलो तीन महिनामा सात सय ८३.७५ मेट्रिक टन अलैँची मेची भन्सारबाट निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कमी हो । आव २०८०/०८१ यो अवधिमा एक हजार पाँच सय २५.९६ मेट्रिक टन अलैँची यहाँबाट निर्यात भएको भन्सारको तथ्याङ्क छ ।
अलैँची देशका ४२ जिल्लामा उत्पादन हुने गरेको छ । नेपाल सबैभन्दा बढी अलैँची उत्पादन गर्ने देश हो । कुल उत्पादनको ९४ प्रतिशत पूर्वी पहाडका सात जिल्ला (इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, धनकुटा, तेह्रथुम र भोजपुर) मा हुन्छ । बिचमा अलैँची मासेर अन्य बाली लगाएका किसानले पुन बारी मासेर अलैँची लगाउन थालेका छन् । किसानले भर्खरै थन्क्याएको अलैँची बजार पुर्याउन थालेका छन् ।
Discussion about this post