धरान : शब्दथुम कृतिका लेखक प्रकाश थाम्सुहाङलाई २०८० सालको कवि विमल गुरुङ कृति पुरस्कार प्रदान गरिएको छ ।
थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ लाई शनिबार एक कार्यक्रमबीच पुरस्कार प्रदान गरिएको हो । उनलाई नगद दुई लाख रुपैयाँ, ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. भीमप्रसाद खतिवडा, वरिष्ठ कवि बम देवान र विमल गुरुङ स्मृति पुस्तकालयका संरक्षक तथा विमलका बुबा पूर्णबहादुर गुरुङले पुरस्कृत गरे ।
कृति पुरस्कारका लागि देश तथा विदेशबाट एक सय एक वटा पुस्तक प्राप्त भएका थिए ।
यसैगरी सोही कार्यक्रमको अवसर पारेर इटहरी २० मा रहेर पत्रकारितासँगै साहित्य सिर्जनामा सक्रिय रहेका विवेक विवश रेग्मीलाई कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा सम्मानले सम्मानित गरिएको छ । नगदसहित उनलाई युवा प्रतिभा सम्मानबाट कार्यक्रमका प्रमुख अतिथिलगायतले सम्मानित गरे ।
साथै, कार्यक्रममा कवि विमलको कविता संग्रह एक किलो जंगल कृतिको लोकार्पणसमेत गरिएको थियो ।
कविता प्रतियोगिता
सोही कार्यक्रममा ३३ औँ राष्ट्रिय कविता महोत्सवसमेत आयोजना गरियो । प्रतियोगितामा नवलपरासीको अन्जान प्रदीप (प्रदीप ढुङ्गाना) प्रथम भए । उनको “सपना” शीर्षकको कविता प्रथम भएको हो ।
यसैगरी हाल बेलायत बसोवास गर्ने शान्ति लिम्बूको “थेम्स नदिको किनारै किनार” दोस्रो र मोरङकी समीक्षा छिलिङ राईको “फूल र म” कविता तेस्रो भएको छ ।
उनीहरूले क्रमशः नगद २१ हजार, १८ हजार र १७ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । कविता महोत्सवका लागि स्वदेश र विदेशका कविहरूबाट प्राप्त भएका ८१ कविताहरूमध्ये १० कविता छनौट गरिएको थियो ।
छनौटमा परेकामध्ये उत्कृष्ट तीन कवितालाई क्रमशः प्रथम, दोश्रो र तेश्रो पुरस्कार प्रदान गरिएको हो ।
प्रतियोगितामा अन्जान प्रदीपको सपना, शान्ति लिम्बूको थेम्स नदिको किनारै किनार, समीक्षा छिलिङ राईको फूल र म, दीपेन्द्र आचार्यको ल्याप्चे, मिन्जाई राईको बूढो परदेशी, प्रशान्त उप्रेतीको विलासी राता बाकस, लेकाली कान्छा मुक्कुमको रैथाने बगैँचाको अर्गानिक मुस्कान, सिजन श्रेष्ठको तेजबहादुर दर्जी, अनाम अपेक्षितको एउटा सडकको समालोचना र दीपा मग्रातीको देशमा मेरो अनुहार कविता उत्कृष्ट १० मा छनोट भएको थियो ।
Discussion about this post