इलाम : आज राष्ट्रिय विभूति तथा किरात धर्मगुरु फाल्गुनन्दको १४० औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।संसारभर छरिएर रहेका विशेष गरी किरात धर्मावलम्बीले समाज सुधारक फाल्गुननन्दको जन्म जयन्ती मनाउँदै छन् ।
इलामको इलामको सन्दुकपुर गाउँपालिका वडा ४, माबुको हाङ्मादिनमा आज विशेष कार्यक्रम आयोजना गरी फाल्गुनन्दको जन्म जयन्ती मनाइँदै छ । इलामको लारुम्बामा रहेका किरात धर्मगुरु आत्मानन्द लिङ्देन आज हेलिकप्टरमार्फत यहाँ पुग्दैछन् ।
जन्म जयन्ती समारोहको सबै तयार पूरा भएको छ । आज यहाँ किरात फाआप मिङ्सो माङ्हिम उद्घाटन गरिँदै छ ।
करिब एक करोड लगानीमा सम्पन्न माङहिम २०७३ माघ ३० मा शिलान्यास गरिएको थियो । यहाँ नवनिर्मित फाल्गुननन्दको पूर्ण कदको सालिकसमेत आजै अनावरण गरिँदै छ ।
सम्मान पत्र वितरण, कृति विमोचन तथा विभिन्न जातीय धार्मिक, सांस्कृतिक झाँकी प्रदर्शनीका कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।
भरे साँझ एक हजार एक सय आठ दीप प्रज्वलन, माङलाङ केलाङ लगायत विभिन्न कलाकारको साङ्गीतिक प्रस्तुतिसमेत राखिएको आयोजकले जनाएको छ । जन्म जयन्तीका कार्यक्रम कात्तिक २२ देखि नै चलिरहेका छन् ।
त्यसका लागि कात्तिक २२ देखि २५ सम्म यहाँ मदिरासमेत निषेध गरिएको वडाध्यक्ष ढालबहादुर गुरुङले बताए । वडाले सूचना नै जारी गरी पूर्वमा धुवाँ खोला, पश्चिममा तीनकुने, उत्तरमा भीर गाउँ र दक्षिणमा हाङ्मादेनभित्रको क्षेत्रमा मदिराजन्य वस्तु विक्री, वितरण, सेवन र ओसारपसारमा प्रतिबन्ध गरेको थियो ।
जन्म जयन्ती मनाउन कात्तिक २२ मा गालीश्राप बहन्ती (साकमुरा वदेम्मा सेवा), २३ मा येत लाधुङ नाम्धुङ सेवा, २४ मा विश्व शान्ति तथा मानव एकता र चराचर जगतको शान्ति कामना गर्दै येत नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न गरिएको छ । किरात धार्मिकस्थल इलामको माङ्सेबुङदेखि विभिन्न नगर र गाउँ, झापा, पाँचथर, ताप्लेजुङ, पाँचथर, धनकुटा, सुनसरी, मोरङलगायत जिल्लामा पनि विविध कार्यक्रम आयोजना गरिएका छन् ।
नेपालका दर्जनौँ जिल्लासहित भारत, अमेरिका, भुटान, हङकङ, बेलायत, अस्ट्रेलिया, मलेसिया, कतार, दुबई, साउदी, ब्रुनाई, कोरिया, जापान, क्यानडा, साइप्रसलगायत विभिन्न देशमा समेत किरात धर्मगुरु फाल्गुननन्दको जन्म जयन्ती मनाउने गरिएको छ ।
फाल्गुननन्दको जन्म १९४२ साल कात्तिक २५ मा इलामको माङ्सेबुुङ गाउँपालिका–२ ९साविक इभाङ गाविस–५०, चुुक्चिनाम्बामा भएको थियो । किरात लिपि, भाषा, संस्कार, संस्कृति र समाज सुधारका लागि फाल्गुनन्दले योगदान गरेका छन् । २००५ चैत २२ मा उनको निधन भएको थियो ।
Discussion about this post