रुपन्देही : सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रुपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्व गृहमन्त्ती रवि लामिछानेको बयान बुधबार पनि लिइने भएको छ ।
आज (मंगलबार) बयान नसकिएपछि उनको बयान बुधबार पनि लिइने भएको हो ।
मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ पौने ६ बजे स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले भने, ‘बयानपछि उहाँलाई जिल्ला प्रहरी कार्यालयमा सहज रूपमा लिएर राखेका छौं ।’
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई पोखराबाट मंगलबार दिउँसो भैरहवा ल्याइएको थियो ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।
प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।
सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
Discussion about this post