पाँचथर : पाँचथरको फालेलुङ गाउँपालिका १ मा अवस्थित आगेजुङ गुम्बा परिसर सोमबार सांस्कृतिक भेसभुसा सहितका झाँकीले झकिझकाउ भएको छ ।
कोशी प्रदेशकै सबै भन्दा ठुलो र पुरानो बौद्ध गुम्बाका रूपमा स्थापित यस स्थानमा सेर्पा नाच सहितका बहु सांस्कृतिक कार्यक्रम आयोजना गरिएका कारण यहाँको वातावरण झाँकीमय भएको हो ।
यस गुम्बामा आयोजना भएको मौन व्रत (ज्युङने) मा सहभागी हुन आएका देश विदेशका व्रतवासीको सम्मानका लागि यहाँ शेर्पा नाच सगैँ विभिन्न रसका सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा सेर्पा र लामा नाच सहित नेपालको विभिन्न भूगोलमा बसोबास गर्ने जाती र समुदाय विशेषका झाँकी सगैँ थरिथरिका गीत र नृत्य प्रस्तुत गरिए ।
कार्यक्रममा बाल बालिका,प्रौढ,किशोर किशोरी मात्रै नभएर ज्येष्ठ नागरिक सबैले आ आफ्नो संस्कृति झल्किने भेसभुसा र गर गहनामा सजिएर उपस्थित भएका थिए ।
गीत सङ्गीत र नृत्यका माध्यमबाट बहु जातीय र बहु सांस्कृतिक विशेषता बोकेको नेपाल र नेपालीका एकतालाई अझ प्रगाढ बनाउन मदत पुग्ने आयोजक आगेजुङ गुम्बा व्यवस्थापन समितिका सदस्य दावा बाङदी सेर्पाको विश्वास छ ।
कार्यक्रममा उपस्थित दर्शकले यहाँ प्रस्तुत भएका झाँकी र भेष भुसाले नेपालको मौलिक संस्कृति जगेर्नामा समेत टेवा पु¥याएको टिप्पणी गरे ।
तस्बिरहरू लक्ष्मी गौतम
Discussion about this post